हेटौंडा। नेपाल तामाङ दोङ संघ मकवानपुरको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। आइतबार आयोजित उक्त कार्यक्रम संघका सभापति गजबसिंह दोङको सभापतित्वमा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल तामाङ घेदुङ मकवानपुरका उपाध्यक्ष आत्माराम मुक्तान प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए भने विशेष अतिथिका रूपमा मोक्तान समाज मकवानपुरका अध्यक्ष जीवनमान मोक्तानको सहभागिता रहेको थियो। साथै, अतिथिहरूमा तितुङ तामाङ समाज मकवानपुरका सचिव हर्करत्न लामा लगायतको उपस्थिति रहेको थियो।कार्यक्रमका क्रममा संघका कोषाध्यक्ष तुलक माया दोङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी, सचिव सानुकन्छा दोङले संगठनात्मक प्रगति प्रतिवेदन तथा आगामी कार्यक्रमबारे जानकारी गराएका थिए।साधारणसभामा वक्ताहरूले तामाङ समुदायको पहिचान, भाषा, संस्कृतिको संरक्षण तथा संगठन सुदृढीकरणमा जोड दिएका थिए। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।























































