मकवानपुरको दुर्गम क्षेत्र कैलाश गाउँपालिकामा कार्यरत नयाँ स्वास्थ्य स्वयंसेविकाहरूलाई लक्षित गर्दै १० दिने आधारभूत तालिम सुरु गरिएको छ। सोमबार आयोजित एक कार्यक्रममार्फत तालिमको औपचारिक उद्घाटन गरिएको हो।
जनस्वास्थ्य कार्यालय मकवानपुरले गाउँपालिकासँगको सहकार्यमा तालिम सञ्चालन गरेको हो। उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण आधारस्तम्भका रूपमा व्याख्या गर्दै उनीहरूको क्षमता अभिवृद्धिमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताए।
उनले तालिमपछि प्राप्त ज्ञान र सीपलाई समुदायमै प्रयोग गर्दै स्वास्थ्य सेवा प्रवाहमा सक्रिय भूमिका खेल्न स्वयंसेविकाहरूलाई आग्रह गरे। साथै, कामका क्रममा आउने समस्या समाधानका लागि स्वास्थ्य शाखासँग समन्वय गर्न पनि सुझाव दिए।
कार्यक्रममा जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख लक्ष्मण घिमिरेले नयाँ स्वयंसेविकाहरूको संख्या १० भन्दा बढी भएपछि आधारभूत तालिम सञ्चालन गरिने प्रचलनअनुसार यसपटक ११ जनालाई समेटिएको जानकारी दिए। उनले तालिमपछि आवश्यक औषधि तथा सामग्रीसहितको बक्स उपलब्ध गराइने पनि बताए।
कैलाश गाउँपालिका मकवानपुरकै विकट क्षेत्रमध्ये पर्ने भएकाले स्वास्थ्य सेवामा विशेष ध्यान दिइएको उल्लेख गर्दै तीनै तहका सरकारबाट लगानी भइरहेको उनले जानकारी गराए।
११ जना सहभागी रहेको उक्त तालिममा सिनियर अनमी तारा थापा र आशा गुरुङले सहजीकरण गर्नेछन्। तालिम अवधिभर सहभागीहरूका लागि खाना र आवासको व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले बताए। कार्यक्रममा अन्य सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो।























































