प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेस प्रदेशलाई ३५ रनले पराजित गर्दै चौथो जित दर्ता गरेको छ।
वीरगञ्जमा शुक्रबार भएको खेलमा बागमतीले दिएको २०९ रनको लक्ष्य पछ्याएको मधेस प्रदेश ३४.३ ओभरमा १७३ रनमै समेटियो।
मधेसका लागि मयन यादवले सर्वाधिक ४० रन बनाए पनि टोलीलाई जिततर्फ लैजान सकेनन्। कप्तान अनिल शाहले २६, मोहम्मद आदिल आलमले २७ र विशाल सुस्लिङले २१ रनको योगदान दिए पनि अन्य ब्याटरहरू ठूलो स्कोर बनाउन असफल रहे।
बागमतीका बलर प्रतिश जिसी खेलका नायक बने। उनले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए। उनलाई रिजन ढकालले २ विकेट लिएर साथ दिए।
त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २०८ रन बनाएको थियो। उत्तम मगरले ४४ रनको सर्वाधिक योगदान दिए भने कप्तान सन्दीप लामिछानेले ३६ रन जोडे।
मधेसका बलर पवन सराफले ३ विकेट लिए भने अन्य बलरहरूले पनि केही सफलता हासिल गरे पनि जित दिलाउन सकेनन्।


















