मकवानपुरको बागमती गाउँपालिकामा आज (बैशाख १७) देखि आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समिति र सर्लाहीको बागमती युथ क्लब आमनेसामने हुनेछन्। खेल दिउँसो ३:३० बजे बागमती–४ स्थित सहिद स्मृति रंगशालामा हुनेछ।
प्रतियोगितामा देशका चर्चित क्लबहरूबीच रोमाञ्चक प्रतिस्पर्धा हुने तालिका सार्वजनिक भइसकेको छ। बैशाख १८ गते त्रिभुवन आर्मी क्लब र नव जनजागृति क्लब भिड्नेछन् भने १९ गते एपीएफ र चित्लाङ एफसीबीच खेल हुनेछ। २० गते ललितपुरको चर्च ब्वाइज क्लबले उद्घाटन खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
त्यसैगरी, २१ गते फ्रेन्ड्स क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच खेल हुनेछ भने २२ गते मछिन्द्र क्लबले एपीएफ र चित्लाङबीचको विजेतासँग भिड्नेछ। सेमिफाइनल खेलहरू बैशाख २३ र २४ मा हुनेछन्, जबकि फाइनल बैशाख २६ गते तय गरिएको छ।
यस प्रतियोगितामा आयोजकसहित कुल १० टोली सहभागी छन्। विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टलाई जनही २५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ।





















































