मकवानपुर । मनहरी गाउँपालिका–६ जोगितालमा गाई ब्याएपछि परम्परागत रूपमा खाने ‘बिगौती’ दूध सेवन गरेका ९ जना बिरामी परेका छन्। बिरामीमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले भरतपुरस्थित अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।
स्थानीय रेशम थापाको होलिस्टिन जातको गाईले असार ८ गते बाछो जन्माएपछि उनले धेरै दूध उत्पादन भएको भन्दै पकाएर छिमेकीहरूलाई बिगौतीका रूपमा बाँडेका थिए। थापाका अनुसार दूध करिब ८ देखि ९ घरपरिवारमा वितरण गरिएको थियो।
दूध सेवन गरेको भोलिपल्टदेखि केही व्यक्तिमा झाडापखाला, बान्ता तथा उच्च ज्वरो देखिएपछि उनीहरू उपचारका लागि अस्पताल पुगेका थिए। बिरामी युनिक थिङका बुबा गोपिराम थिङले बिगौती खाएपछि परिवारका सदस्यहरूमा स्वास्थ्य समस्या देखिन थालेको बताए।
मनहरी अस्पतालकी प्रमुख डा. रश्मि झाका अनुसार हालसम्म ९ जना बिरामीको पहिचान भएको छ। तीमध्ये तीन जनालाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ भने तीन जना मनहरी अस्पतालमै उपचाररत छन्। अन्य बिरामीले पनि विभिन्न स्वास्थ्य संस्थामा उपचार गराइरहेका छन्।
गम्भीर अवस्थाका एम्सन मुक्तान र एल्सन मुक्तानको भरतपुरस्थित पुरानो मेडिकल कलेजको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ। अर्का एक जना सोही अस्पतालमा भर्ना छन्। यस्तै तीन जनाको भरतपुर सरकारी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको बताइएको छ।
दूध वितरण गरेका थापाले भने दूध सेवन गरेका सबैलाई समस्या नदेखिएको र केही व्यक्तिमा मात्रै स्वास्थ्य समस्या देखिएको बताएका छन्।
घटनापछि दूधको नमुना परीक्षणका लागि मनहरी अस्पतालमा बुझाइएको छ। परीक्षण प्रतिवेदन आएपछि बिरामी हुनुको वास्तविक कारण खुल्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्।
घटनाको कारणबारे थप अनुसन्धान गर्न मनहरी गाउँपालिका र मनहरी अस्पतालका चिकित्सकहरूको संयुक्त टोली बुधबार जोगिताल पुगेर स्थलगत अध्ययन थालेको छ।
























