मकवानपुरगढी, असार १० – मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७२ करोड ७५ लाख २३ हजार रुपैयाँको बजेट तथा नीति–कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको चौधौँ गाउँसभाको प्रथम बैठकमा उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले बजेट प्रस्तुत गरेकी हुन्।
प्रस्तुत बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास, सुशासन तथा वातावरण संरक्षणलाई विकासका प्रमुख आधारका रूपमा अघि सारिएको छ। कुल बजेटमध्ये ४३ करोड ९० लाख २३ हजार रुपैयाँ अर्थात् ६०.३५ प्रतिशत चालु खर्चतर्फ र २८ करोड ८५ लाख रुपैयाँ अर्थात् ३९.६५ प्रतिशत पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।
गाउँपालिकाले कृषि क्षेत्रलाई उत्पादनमुखी र व्यवसायिक बनाउने लक्ष्यसहित रैथाने बाली संरक्षण, जैविक खेती, स्मार्ट कृषि प्रविधि, सिँचाइ विस्तार तथा किसान परिचयपत्र कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। पशुपालनलाई आधुनिक प्रविधिसँग जोड्दै दुग्ध, मासु तथा पशुजन्य उत्पादनको मूल्य शृंखला विकास, पशु बीमा, खोप सेवा र साइलेज उद्योग सञ्चालन गरिने नीति लिइएको छ।
पर्यटन विकासअन्तर्गत मकवानपुरगढी दरबार, ऋखेश्वर गुफा, ढुङ्गेगढी, मनकामना क्षेत्र, छत्रेलेक पाथिभरा मन्दिर तथा हेलिग्राफलगायत धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गरिने भएको छ। साथै होमस्टे, कृषि पर्यटन र सांस्कृतिक पर्यटनलाई एकीकृत रूपमा विकास गरिने नीति पनि समेटिएको छ।
शिक्षा क्षेत्रमा डिजिटल सिकाइ, करियर परामर्श, छात्रवृत्ति तथा ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई प्रभावकारी बनाइने जनाइएको छ। स्वास्थ्यतर्फ आधारभूत अस्पताल सुदृढीकरण, प्रयोगशाला सेवा विस्तार, मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य तथा नसर्ने रोग नियन्त्रणका कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
खानेपानी व्यवस्थापनका लागि खानेपानी बोर्ड गठन गरी उपभोक्ता समितिहरूलाई आबद्ध गराइने तथा ‘एक घर, एक धारा’ अभियानलाई निरन्तरता दिइने नीति लिइएको छ। त्यस्तै सूचना प्रविधिमा आधारित सेवा प्रवाह, डिजिटल नागरिक वडापत्र, अनलाइन अभिलेखीकरण तथा पारदर्शी प्रशासनलाई समेत प्राथमिकतामा राखिएको छ।
बजेट व्यवस्थापनका लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १० करोड ९० लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट २२ करोड १९ लाख रुपैयाँ तथा आन्तरिक आय र गत वर्षको मौज्दातबाट ८ करोड ८३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
क्षेत्रगत रूपमा सामाजिक विकासमा ३२ करोड १ लाख ७८ हजार रुपैयाँ, पूर्वाधार विकासमा २३ करोड ३० लाख रुपैयाँ, आर्थिक विकासमा ५ करोड ४५ लाख रुपैयाँ, संस्थागत विकास तथा सुशासनमा १ करोड ३ लाख रुपैयाँ र वन, वातावरण तथा विपद् व्यवस्थापनमा ७० लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको छ।
गाउँपालिकाले ‘समृद्ध मकवानपुरगढी, सुखी नागरिक’ भन्ने दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राख्दै स्थानीय स्रोत, सीप र सम्भावनाको अधिकतम उपयोगमार्फत आत्मनिर्भर, हरित, प्रविधिमैत्री र समावेशी गाउँपालिका निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
























