देशभर प्रि–मनसुनको प्रभाव देखिन थालेसँगै आज मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बिहान केही स्थानमा मौसम खुलेको देखिए पनि दिउँसोतिर भने अधिकांश क्षेत्रमा बदली हुने अनुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरैजसो भागमा सामान्य बदली रहनेछ भने सुदूरपश्चिमको तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।
यसअघि बुधबार र बिहीबार हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्वतर्फ सरेको भए पनि स–साना मौसमी प्रणाली अझै सक्रिय रहेको मौसमविद् हरिप्रसाद दहालले बताएका छन्। उनका अनुसार आगामी एक हप्तासम्म देशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र केही ठाउँमा भारी वर्षा हुन सक्ने सम्भावना कायम छ।
विशेषगरी कोशी, बागमती, गण्डकीका तराई क्षेत्र तथा मधेश प्रदेशमा वर्षाको प्रभाव बढी देखिन सक्ने अनुमान गरिएको छ। वर्षासँगै तराई क्षेत्रमा तापक्रम घटेर शीतल महसुस हुने सम्भावना छ भने उच्च हिमाली भेगका केही स्थानमा हिमपातसमेत हुन सक्छ।
प्रि–मनसुन अवधिमा चट्याङ, हावाहुरी र असिना पर्ने जोखिम रहने भएकाले सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन्।















































