२०५३ सालदेखिका विद्यार्थीलाई मौका परीक्षा दिने अवसर

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लामो समयदेखि अनियमित बन्दै आएको शैक्षिक पात्रोलाई ट्र्याकमा ल्याउन परीक्षा सञ्चालनलाई तीव्र बनाएको छ। अहिले विभिन्न तह र वर्षका रोकिएका तथा मौका परीक्षाहरू एकैसाथ सञ्चालन भइरहेका छन्।

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलका अनुसार असारसम्म सबै बाँकी परीक्षा सक्ने लक्ष्य राखिएको छ। त्यसपछि साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गरिने तयारी गरिएको छ।

हाल वैशाख महिनामै स्नातक तहका विभिन्न कार्यक्रमअन्तर्गत बिएएलएलबी दोस्रो वर्ष, नियमित स्नातक दोस्रो वर्ष तथा वि.टेक पहिलो र दोस्रो वर्षका परीक्षा सञ्चालन भइरहेका छन्। साथै, २०५३ सालदेखि रोकिँदै आएका मौका परीक्षा पनि यही अवधिमा सक्ने गरी अघि बढाइएको छ।

त्रिविले जेठ महिनाका लागि तीन वर्षे र चार वर्षे स्नातक तहका पहिलो वर्ष, बिएएलएलबी तेस्रो वर्ष तथा वि.टेक तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरिसकेको छ। असारमा भने स्नातक तहका सबै सङ्कायका चौथो वर्षका नियमित परीक्षा सञ्चालन गरिने जनाइएको छ।

परीक्षा व्यवस्थापनमा सुधारसँगै नतिजा प्रकाशनमा पनि तीव्रता ल्याइएको छ। परीक्षा सम्पन्न भएको अधिकतम १०० दिनभित्रै नतिजा सार्वजनिक गर्ने अभ्यास सुरु गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.