शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले नवप्रवेशी शिक्षकहरूका लागि सेवा प्रवेश तालिम सञ्चालन गरेको छ। हेटौँडामा मंगलबारदेखि बिहीबारसम्म चलेको तालिममा २८ जना शिक्षक सहभागी भएका छन्।
इकाई प्रमुख सुदीप गिरीका अनुसार शैक्षिक सत्र २०८२ मा नियुक्त शिक्षकहरूलाई लक्षित गर्दै तालिम आयोजना गरिएको हो। विभिन्न समयमा नियुक्ति भएकाले तत्काल तालिम दिन कठिन भएको र नयाँ शैक्षिक सत्र सुरु हुनुअघि उपयुक्त समय मिलाएर तालिम सञ्चालन गरिएको उनले जानकारी दिए।
तालिममा प्राथमिक तहका २३, निम्न माध्यमिक तहका ३ र माध्यमिक तहका २ जना शिक्षक सहभागी रहेका थिए। सहभागीहरूलाई पाठ्यक्रम कार्यान्वयन, विद्यार्थी मूल्यांकन, शिक्षकसम्बन्धी ऐन–नियम, कक्षाकोठा व्यवस्थापन लगायत विषयमा अभिमुखीकरण गरिएको थियो।
तालिमपछि सहभागी शिक्षकहरूले प्राप्त ज्ञान र सीपले आगामी पठनपाठनमा गुणस्तरीय सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा इकाईकी शाखा अधिकृत संगीता घले, जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाई, सिद्धार्थ माध्यमिक विद्यालयका शिक्षक खेमराज लामिछाने तथा जेनिथ इन्टनेशनल स्कूलका प्रिन्सिपल श्रीबहादुर कार्कीले सहजीकरण गरेका थिए।















































