मकवानपुर — बागमती प्रदेश सरकारले प्रशासनिक संरचना संकुचन गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम १४ मन्त्रालयलाई घटाएर ८ मा सीमित गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजना मन्त्री प्रभात तामाङका अनुसार नयाँ संरचना आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ। चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई ध्यानमा राख्दै हालको मन्त्रिपरिषद् सो अवधिसम्म यथावत रहनेछ।
नयाँ संरचनाअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला, कानुन तथा सहकारी, आर्थिक मामिला तथा योजना, खानेपानी, ऊर्जा तथा सिँचाइ, भौतिक पूर्वाधार विकास, कृषि, पशुपन्छी, वन तथा वातावरण, स्वास्थ्य तथा सामाजिक विकास तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय रहनेछन्।
सरकारले मन्त्रालयहरू मर्ज गर्दा बजेट व्यवस्थापनलाई समेत पुनःसंरचना गर्ने तयारी गरेको छ। आगामी आर्थिक वर्षको बजेट नयाँ मन्त्रालयको संरचनाअनुसार कोडिङ गरेर कार्यान्वयन गरिने प्रवक्ता तामाङले जानकारी दिए।
यस पुनर्गठनसँगै मन्त्रालय मातहतका कार्यालयहरूको संख्या १९८ बाट घटेर १४८ मा झर्ने अनुमान गरिएको छ। साथै, चालु खर्चमा वार्षिक करिब ५ अर्ब रुपैयाँ बचत हुने र उक्त रकम पुँजीगत खर्चमा लगानी गरिने सरकारको योजना छ। रातोपाटीबाट ।















