११ महिनादेखि तलबविहीन मजदुर, हेटौँडा सिमेन्ट उद्योगभित्र पीडा चुलिँदै

हेटौँडाको लामसुरेमा रहेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगभित्र काम गर्ने मजदुर र कर्मचारीहरू यतिबेला गम्भीर आर्थिक संकटमा गुज्रिरहेका छन्। विगत ११ महिनादेखि पारिश्रमिक नपाएको भन्दै उनीहरूले अब सहन सक्ने अवस्था नरहेको जनाएका छन्।

सोमबार उद्योगका निमित्त महाप्रबन्धक शिवनारायण साहलाई ज्ञापनपत्र बुझाउँदै कर्मचारीहरूले ११ दिनभित्र सबै बाँकी तलब, ज्याला र अन्य सुविधा उपलब्ध नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

कर्मचारीहरूका अनुसार उनीहरूले केवल तलब मात्रै होइन, लामो समयदेखि कट्टा गरिएको सञ्चय कोष, नागरिक लगानी कोष र कर फिर्ता रकमसमेत पाएका छैनन्। यसका साथै एक वर्षदेखि सट्टा बिदाको सुविधा पनि रोकिएको छ, जसले उनीहरूको दैनिकी झनै कष्टकर बनाएको छ।

उद्योगमा जनशक्ति अभाव चर्किँदै जाँदा सीमित कर्मचारीले अतिरिक्त समय काम गर्नुपरेको छ। तर, स्वीकृति हुँदाहुँदै पनि ३२ महिनादेखि अतिरिक्त कामको पारिश्रमिक नपाएको गुनासो उनीहरूले गरेका छन्। व्यवस्थापनले पटक–पटक आश्वासन दिए पनि व्यवहारमा कार्यान्वयन नभएको आरोप छ।

उद्योग विगत पाँच वर्षदेखि न्यून उत्पादनको अवस्थाबाट गुज्रिरहेको छ। अहिले कुल दरबन्दीको करिब ३० प्रतिशत जनशक्तिले मात्रै उद्योग धानिरहेको छ। हाल करिब १३० स्थायी र १५० ज्यालादारी मजदुर कार्यरत छन्।

चैतको दोस्रो सातादेखि २२ दिनसम्म उत्पादन हुँदा करिब १० करोड रुपैयाँ बराबरको सिमेन्ट तयार गरिएको थियो। तर बजारमा विक्री हुन नसक्दा उद्योग पुनः बन्द अवस्थामा पुगेको छ। हाल करिब ९० हजार बोरा सिमेन्ट स्टकमा रहेको छ र त्यसको विक्री प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताइएको छ।

लगातारको अनिश्चितता र आर्थिक अभावले कर्मचारीहरूको जीवन झन् कठिन बन्दै गएको छ। उनीहरूको मुख्य माग अहिले एउटै छ—आफ्नो पसिनाको उचित मूल्य र न्यूनतम सम्मान।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.