मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा आज सेमिफाइनल खेल हुँदैछ। काठमाडौंको चित्लाङ फुटबल क्लब र बाराको नव जनजागृति युवा फुटबल क्लबबीचको प्रतिस्पर्धा दिउँसो ३:३० बजे बागमती–४ स्थित सहिद स्मृति रङ्गशालामा हुनेछ।
आजको खेलको विजेता टोलीले शनिबार हुने फाइनलमा सर्लाहीको बागमती युथ क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
समूह चरणमा चित्लाङ एफसीले साविक उपविजेता मछिन्द्र एफसीलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। त्यस्तै नव जनजागृति युवा क्लबले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो।
बागमती खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल शनिबार हुनेछ। विजेता टोलीले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।















