एसईई नतिजा वैशाखभित्रै सार्वजनिक हुने, तयारी अन्तिम चरणमा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। बोर्डले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित प्राविधिक तथा प्रशासनिक प्रक्रिया तीव्र बनाएको हो।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार विद्यार्थीहरूको प्राप्ताङ्क प्रणालीमा प्रविष्ट गर्ने काम सम्पन्न भइसकेको छ। अहिले विवरण पुनः परीक्षण तथा रुजु गर्ने कार्य भइरहेको छ। नतिजा प्रकाशनअघि कुनै त्रुटि नहोस् भन्ने उद्देश्यले तथ्याङ्कलाई सावधानीपूर्वक जाँच गरिँदैछ।

यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। उत्तरपुस्तिका परीक्षण कार्य परीक्षा केन्द्रमै सम्पन्न गरिएकाले अघिल्ला वर्षको तुलनामा नतिजा तयारी प्रक्रिया छिटो अघि बढेको बोर्डले जनाएको छ। नतिजा एकीकृत गर्ने काम समेत सम्पन्न भइसकेको छ।

देशभरबाट यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये ४ लाख ४१ हजार ५६६ नियमित तथा ७० हजार ८५५ जना ग्रेड वृद्धि परीक्षार्थी रहेका छन्।

लैंगिक आधारमा हेर्दा छात्राको संख्या छात्रभन्दा केही बढी रहेको छ। कुल सहभागीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा र २ लाख ५४ हजार ८०१ छात्र रहेका छन्।

नतिजा सार्वजनिक हुने समय नजिकिँदै जाँदा विद्यार्थी तथा अभिभावकमा उत्सुकता र प्रतीक्षा बढ्दै गएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.