बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले भक्तपुरका विभिन्न सुकुम्बासी शिविरमा आश्रय लिइरहेका नागरिकहरूको स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिने बताएका छन्।
भक्तपुरको नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्र मा सञ्चालन गरिएको सुकुम्बासी सेल्टरको बिहीबार अनुगमनपछि मुख्यमन्त्री बानियाँले जनताको स्वास्थ्यप्रति सरकार संवेदनशील र प्रतिबद्ध रहेको बताए।
मुख्यमन्त्री बानियाँसहित बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगर, पर्यटन तथा संस्कृतिमन्त्री सुरेश श्रेष्ठ, सामाजिक विकासमन्त्री कञ्चन बादे श्रेष्ठ तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमसहितको टोलीले शिविरको अवस्था अवलोकन गरेको थियो।
सुकुम्बासीहरूसँग छलफल गर्दै मुख्यमन्त्री बानियाँले केन्द्रीय सरकारले छिट्टै स्थायी बसोबासको व्यवस्था गर्ने विश्वास व्यक्त गर्दै तत्कालका लागि स्वास्थ्य सेवामा कुनै समस्या हुन नदिने बताए। उनले निःशुल्क उपचारका लागि आवश्यक बजेट प्रदेश सरकारले व्यवस्थापन गर्ने स्पष्ट पारे।
स्वास्थ्यमन्त्री किरण थापामगरले असारसम्म आवश्यक पर्ने औषधिको विवरण तत्काल पठाउन जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुर र भक्तपुर अस्पताल लाई निर्देशन दिएका छन्। उनले सबै बिरामी तथा दीर्घरोगीलाई निःशुल्क उपचार उपलब्ध गराउन र आवश्यक परे अस्पतालमा भर्ना गरेर उपचार गर्न आग्रह गरे।
अनुगमनका क्रममा पर्यटन तथा संस्कृतिमन्त्री सुरेश श्रेष्ठले शिविरमा रहेका २९ जना बालबालिकालाई श्रीकृष्ण माध्यमिक विद्यालय मा तत्काल अध्ययनको व्यवस्था मिलाइने जानकारी दिए। उनले चाँगुनारायण नगरपालिकासँग समन्वय गरेर बालबालिकाको शिक्षालाई निरन्तरता दिइने बताए।
स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरलाई दैनिक स्वास्थ्य परीक्षणका लागि चिकित्सकसहितको टोली खटाउन निर्देशन दिएकी छन्।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले शिविरमा आँखा नदेख्ने, प्यारालाइसिस, स्ट्रोक तथा दीर्घरोगबाट पीडित धेरै बिरामी रहेको जानकारी दिँदै बीमाले नसमेट्ने महँगा औषधि आवश्यक पर्ने बिरामीसमेत रहेको बताइन्।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकाल ले शिविरमा सरकारबाट भइरहेको बसोबास तथा खाद्यान्न व्यवस्थाबारे जानकारी गराएका थिए।
हाल सरकारले खरिपाटीमा १५८ जना, मध्यपुरथिमिको कृषि विकास बैंक तालिम केन्द्रमा ३९ जना तथा नगरकोटको खानेपानी तालिम केन्द्रमा ४६ जनालाई अस्थायी सेल्टरमा राखेर बसोबास तथा खानपानको व्यवस्था गरेको छ।















