हेटौँडा । चित्लाङ एफसी काठमाडौंले उत्कृष्ट प्रदर्शन गर्दै आठौँ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार झुरझुरेस्थित सहिद स्मृति रंगशालामा भएको फाइनल खेलमा सर्लाहीको बागमती युथ क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै चित्लाङ च्याम्पियन बनेको हो ।
खेल सुरु भएको दोस्रो मिनेटमै एरोन थापाले गोल गर्दै चित्लाङलाई अग्रता दिलाएका थिए । त्यसपछि विदेशी खेलाडी सोलोमन किङले १७ औँ र ४८ औँ मिनेटमा दुई गोल थप्दै टोलीको जित सहज बनाए । खेलको ७७ औँ मिनेटमा समीर तामाङले अर्को गोल गर्दै चित्लाङको जितलाई फराकिलो बनाए । उत्कृष्ट प्रदर्शन गरेका समीर ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।
उपाधिसँगै चित्लाङ एफसीले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको बागमती युथ क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । विजेता तथा उपविजेता टोलीलाई बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, गाउँपालिका अध्यक्ष सर्केश घलान तथा प्रतियोगिता संयोजक रहर सिं थिङलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको यात्रामा चित्लाङले एपीएफ, मछिन्द्र र नवजनजागृति युवा क्लब सिमरालाई हराउँदै फाइनल पुगेको थियो । बागमती युथ क्लबले भने आयोजक बागमती खेलकुद विकास समिति, चर्च ब्वाइज युनाइटेड र फ्रेन्ड्स क्लबलाई पराजित गर्दै उपाधि भिडन्त तय गरेको थियो ।
व्यक्तिगत विधातर्फ चित्लाङ एफसीका लक्ष्मण थापा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए । उत्कृष्ट गोलरक्षक चित्लाङका प्रिसो, उत्कृष्ट डिफेन्डर बागमतीका आयुष मगर, उत्कृष्ट मिडफिल्डर अनिष महर्जन, उत्कृष्ट फरवार्ड एरोन थापा तथा उत्कृष्ट प्रशिक्षक सुमन श्रेष्ठ घोषित भए । सबै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
बागमती गाउँपालिका मकवानपुरको प्रायोजनमा बागमती खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो ।















