ठूला जहाज उडान–अवतरण गर्न मिल्ने एयरपोर्ट रक्सौलमा बन्ने

भारतको सीमावर्ती सहर रक्सौलमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण प्रक्रिया तीव्र रूपमा अघि बढाइएको छ। परियोजना सम्पन्न भएपछि यो विमानस्थल पटना एयरपोर्टभन्दा ठूलो र आधुनिक बन्ने दाबी गरिएको छ।

शनिबार प्रस्तावित विमानस्थल क्षेत्रको स्थलगत निरीक्षण गर्दै डा. संजय जायसवालले परियोजनालाई अत्याधुनिक पूर्वाधारसहित ठूलो हवाई हबका रूपमा विकास गरिने जानकारी दिए।

उनका अनुसार विमानस्थलको रनवे तिलावे नदी पारसम्म विस्तार गरिनेछ, जसले ठूला जहाजको सहज उडान तथा अवतरण सम्भव बनाउनेछ। परियोजनाका लागि आवश्यक करिब १३९ एकड जमिनमध्ये झन्डै ७० प्रतिशत भूमि अधिग्रहण पूरा भइसकेको जनाइएको छ।

सांसद जायसवालले कन्सल्टेन्ट छनोटका लागि टेन्डर प्रक्रिया सुरु भइसकेको र आगामी तीन महिनाभित्र विस्तृत डिजाइन तयार हुने बताए। निर्माण कार्य सम्पन्न गर्न १८ महिनाको समयसीमा निर्धारण गरिएको छ।

उनले विमानस्थल सञ्चालनमा आएपछि रक्सौल क्षेत्रको व्यापार, पर्यटन र रोजगारीका अवसरमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गरे। साथै दिल्ली लगायत ठूला सहर जान पटना विमानस्थल पुग्नुपर्ने बाध्यता अन्त्य हुने उनको दाबी छ।

यो परियोजना सन् २०१६ मा प्रधानमन्त्री प्याकेज अन्तर्गत सुरु गरिएको भए पनि विभिन्न प्रशासनिक कारणले ढिलाइ भएको थियो। तर २०२३ पछि भूमि अधिग्रहण प्रक्रिया तीव्र बनेसँगै निर्माण कार्यले पुनः गति लिएको जनाइएको छ।

स्थलगत निरीक्षण तथा पत्रकार सम्मेलनमा स्थानीय जनप्रतिनिधि र विभिन्न सरोकारवालाहरूको समेत सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.