हेटौँडा । दोस्रो उपमेयर कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन लागेको हेटौँडा फुटबल एकेडेमीलाई जर्सी सहयोग प्राप्त भएको छ । आइतबार हेटौँडा–८ कमानेस्थित कमाने एकेडेमीले हेटौँडा फुटबल एकेडेमीलाई जर्सी सेट हस्तान्तरण गरेको हो ।
कमाने एकेडेमीले करिब २० हजार रुपैयाँ बराबरका १८ थान जर्सी सेट सहयोग गरेको जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि हेटौँडा फुटबल एकेडेमीको महिला टोली आइतबार रुपन्देहीको बुटवलतर्फ प्रस्थान गरेको छ ।
बुटवल उपमहानगरपालिकामा जारी प्रतियोगिताअन्तर्गत हेटौँडा एकेडेमीले सोमबार विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलको विजेता टोली सेमिफाइनलमा प्रवेश गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले २ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले १ लाख २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।















