आइतबार बिदा हेटौँडामा अन्योल : सरकारी विद्यालय बन्द, निजी विद्यालय भने सञ्चालनमै

नेपाल सरकारले परीक्षणका रूपमा लागू गरेको आइतबारको सार्वजनिक बिदा हेटौँडामा प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन। सरकारी विद्यालय बन्द रहे पनि हेटौँडाका धेरै निजी विद्यालय आइतबार पनि नियमित रूपमा सञ्चालन भइरहेका छन्, जसले शिक्षा क्षेत्रमा अन्योल र असमानता देखिएको छ।

बालजागृति, नवोदय, ज्ञानोदय, जेनिथ, जेम्स, सोलिड्यारिटी र सत्यम जेभियर्सलगायत निजी विद्यालयले आइतबार कक्षा सञ्चालन जारी राखेका छन्। सरकारको निर्णयअनुसार सार्वजनिक बिदा कायम गरिए पनि विद्यालय शिक्षा क्षेत्रका लागि स्पष्ट कार्यविधि नआउँदा स्थानीय तह, विद्यालय प्रशासन र अभिभावक अन्योलमा परेका हुन्।

सरकारले ऊर्जा बचत, सार्वजनिक खर्च कटौती तथा प्रशासनिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले हप्तामा दुई दिन सार्वजनिक बिदाको अभ्यास सुरु गरेको थियो। तर निजी विद्यालयहरूले पाठ्यक्रम नसकिने, शैक्षिक क्यालेन्डर प्रभावित हुने तथा प्रतिस्पर्धात्मक दबाब बढ्ने कारण देखाउँदै विद्यालय सञ्चालन जारी राखेका छन्।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले विद्यालयको शैक्षिक क्यालेन्डर प्रभावित नहुने गरी स्थानीय तहले स्पष्ट योजना बनाउनुपर्ने बताउनुभयो। उहाँले केही विद्यालय खुल्ने र केही बन्द रहने अवस्थाले अभिभावक र विद्यार्थीमा अन्योल बढाएको उल्लेख गर्दै स्थानीय तह र शिक्षा शाखासँग समन्वय भइरहेको जानकारी दिनुभयो।

उहाँका अनुसार सरकारी विद्यालय बन्द हुने तर निजी विद्यालय सञ्चालन भइरहने अवस्था राम्रो संकेत नभएको भन्दै जिल्लाभर एउटै नीति आवश्यक रहेको बताउनुभयो। शिक्षा मन्त्रालयबाट स्पष्ट निर्देशन आएपछि कार्यान्वयन सहज हुने उहाँको भनाइ छ।

हेटौँडा उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख तथा वरिष्ठ विद्यालय निरीक्षक हरिचन्द्र सापकोटाले नगरपालिकाले आइतबार विद्यालय सञ्चालनका लागि हालसम्म कुनै औपचारिक अनुमति नदिएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार स्थानीय तह अहिले छलफल र समन्वयकै चरणमा रहेको छ।

यता निजी विद्यालय सञ्चालकहरू भने व्यवहारिक दबाबका कारण विद्यालय सञ्चालन गर्नुपरेको बताउँछन्। संस्थागत विद्यालय अभिभावक संघ मकवानपुरकी अध्यक्ष रामिला सापकोटाले केही विद्यालय खुल्ने र केही बन्द रहने अवस्थाले अभिभावकबाट दबाब बढेको बताउनुभयो। उहाँले शिक्षामा एकरूपता कायम नभएसम्म यस्तो अन्योल रहने धारणा राख्नुभयो।

उहाँले सामुदायिक विद्यालय बन्द हुने तर निजी विद्यालय सञ्चालन भइरहँदा शिक्षामा विभेद झन् बढ्ने खतरा रहेको चेतावनी दिनुभयो। आर्थिक रूपमा कमजोर परिवारका बालबालिका घरमै बस्नुपर्ने तर निजी विद्यालयका विद्यार्थी नियमित कक्षामा सहभागी हुने अवस्थाले शैक्षिक दूरी बढ्न सक्ने उहाँको भनाइ छ।

अभिभावक सुष्मा देवकोटाले पनि दुई दिने बिदाले व्यवहारिक समस्या सिर्जना गरेको बताउनुभयो। व्यापार व्यवसायमा संलग्न भएकाले बालबालिकालाई घरमा राख्न कठिन हुने भन्दै उहाँले विद्यालय नै उपयुक्त वातावरण भएको धारणा राख्नुभयो। उहाँका अनुसार लगातार दुई दिन पढाइ नहुँदा बालबालिकाको अध्ययन लय बिग्रने चिन्ता अभिभावकमा बढेको छ।

शिक्षा क्षेत्रका जानकारहरूले भने संघीय सरकारको निर्णय प्रभावकारी रूपमा लागू गर्न स्पष्ट कार्यविधि, समन्वय र जिल्लाभर एकीकृत नीति आवश्यक रहेको बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.