हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ ले शिक्षा र खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ। वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा सम्पन्न ‘तेस्रो वडा खेलकुद महोत्सव’ अन्तर्गत विजेताहरूलाई आइतबार पुरस्कार वितरण गरिएको हो।
हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो।
गत पुस र माघ महिनामा सञ्चालन भएका छात्र फुटबल, भलिबल, क्रिकेट र बास्केटबल प्रतियोगिताका विजेता तथा उपविजेता विद्यालयलाई सम्मान गरिएको थियो। त्यस्तै निबन्ध लेखन, वादविवाद, कविता लेखन, नेपाली हिज्जे, वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ।
एथ्लेटिक्सतर्फ सिनियर तथा जुनियर छात्र–छात्राबीच दौड, लङजम्प, ट्रिपलजम्प र सटपुट प्रतियोगिता आयोजना गरिएको थियो। ती विधामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा कक्षा ८ को आधारभूत तह परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, अभिभावक तथा शिक्षकलाई समेत सम्मान गरिएको थियो। विभिन्न विषयमा उच्चतम अंक ल्याउने विद्यार्थी र सम्बन्धित शिक्षकलाई नगदसहित सम्मान गरिएको हो। साथै ४ जीपीए प्राप्त गर्ने ११ जना विद्यार्थीलाई विशेष सम्मान गरिएको थियो।
शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलले शिक्षा र खेलकुदलाई वडाको प्राथमिकतामा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड हेटौँडा शाखाका प्रमुख बद्री पाठक, विभिन्न वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो।















