विश्व अर्थतन्त्र तीव्र रूपमा डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेका बेला फाइभजी प्रविधिलाई अब केवल तीव्र इन्टरनेट सेवाका रूपमा मात्र होइन, भविष्यको ‘इन्टेलिजेन्ट इकोनोमी’को आधारका रूपमा हेरिन थालेको छ। World Economic Forum ले फाइभजीलाई उद्योग, शिक्षा, स्वास्थ्य, कृषि र सार्वजनिक सेवामा डिजिटल क्रान्ति ल्याउने प्रमुख प्रविधि मानेको छ।
उच्च गतिको इन्टरनेट, कम प्रतिक्रिया समय र एकैसाथ लाखौँ उपकरण जोड्ने क्षमताका कारण फाइभजीले कृत्रिम बौद्धिकता, स्मार्ट सिटी, स्वचालित उद्योग, डिजिटल व्यापार र आधुनिक सार्वजनिक सेवा प्रणालीलाई नयाँ उचाइमा पुर्याउन सक्ने अपेक्षा गरिएको छ।
नेपालजस्तो विकासशील मुलुकका लागि पनि फाइभजी ठूलो आर्थिक अवसर बन्न सक्ने विज्ञहरूको भनाइ छ। डिजिटल कारोबार, मोबाइल बैंकिङ, ई–कमर्स तथा नगदरहित भुक्तानी प्रणालीलाई थप तीव्र बनाउने क्षमता फाइभजीसँग रहेको बताइन्छ। उद्योग क्षेत्रमा स्मार्ट मेसिन र स्वचालनको प्रयोग बढेर उत्पादन क्षमता वृद्धि हुने अपेक्षा गरिएको छ भने कृषि क्षेत्रमा ड्रोन, स्मार्ट सेन्सर र डिजिटल सिँचाइ प्रणालीमार्फत उत्पादन र दक्षता दुवै बढ्न सक्ने विश्वास गरिएको छ।
पर्यटन क्षेत्रमा भर्चुअल रियालिटी तथा स्मार्ट ट्राभल सेवामार्फत नेपालको प्रवर्द्धन अझ प्रभावकारी बन्न सक्ने देखिन्छ। स्वास्थ्य क्षेत्रमा टेलिमेडिसिन र रिमोट निगरानी प्रणाली विस्तार हुँदा दुर्गम क्षेत्रका नागरिकले विशेषज्ञ सेवा सहज रूपमा पाउने अपेक्षा गरिएको छ। शिक्षा क्षेत्रमा अनलाइन कक्षा, डिजिटल ल्याब र एआईमा आधारित सिकाइ प्रणालीले ग्रामीण र सहरी शिक्षाबीचको दूरी घटाउन मद्दत गर्ने विश्वास गरिएको छ।
Bikram Timsina नेतृत्वको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाललाई फाइभजीतर्फ लैजाने तयारी अघि बढाएको छ। मन्त्री डा. तिमिल्सिनाले फोरजी सेवाको अधिकतम उपयोग गर्दै क्रमिक रूपमा फाइभजी विस्तार गरिने बताउँदै हालै ३३००–३७०० मेगाहर्ज ब्यान्ड खुला गरिएको जानकारी दिएका छन्।
Nepal Telecommunications Authority का अनुसार फाइभजीका लागि फ्रिक्वेन्सी उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ। उपनिर्देशक Pradeep Paudyal ले अब परीक्षणभन्दा व्यावसायिक सञ्चालनतर्फ जाने समय आएको बताएका छन्।
Nepal Telecom ले यसअघि काठमाडौँ, पोखरा र वीरगञ्जमा फाइभजी परीक्षण गरिसकेको छ। कम्पनीका सहप्रवक्ता Prakshet Thapa Kshetri का अनुसार प्रमुख सहरमा सेवा विस्तार गर्ने योजना बनाइएको छ।
यता Ncell ले पनि फाइभजी परीक्षणका लागि अनुमति माग्दै ठूलो लगानी गर्न तयार रहेको जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत Michael Foley ले फाइभजी नेटवर्क, डाटा सेन्टर र गिगाबिट फाइबर विस्तारलाई प्राथमिकतामा राखिएको बताएका छन्।
फाइभजीलाई पाँचौँ पुस्ताको सञ्चार सेवा मानिन्छ। यसको गति फोरजीभन्दा करिब १० गुणा बढी र क्षमता सय गुणासम्म उच्च हुने बताइन्छ। विज्ञहरूका अनुसार फाइभजीमार्फत केही सेकेन्डमै ठूलो डेटा डाउनलोड गर्न सकिन्छ भने स्मार्ट ट्राफिक, चालकविहीन सवारी, टाढाबाट शल्यक्रिया, डिजिटल बैंकिङ र एआई–आधारित सेवा सञ्चालन सहज हुन्छ।
तर फाइभजी विस्तार चुनौतीरहित भने छैन। ठूलो लगानी, उच्च कर, नीतिगत अस्थिरता र दूरसञ्चार कम्पनीहरूको घट्दो आम्दानी अहिलेका मुख्य चुनौती मानिएका छन्। जानकारहरूका अनुसार फाइभजी सफल बनाउन नेटवर्क विस्तारसँगै दीर्घकालीन नीति स्थिरता, कर सहजीकरण, डिजिटल सुरक्षा कानुन र लगानीमैत्री वातावरण पनि उत्तिकै आवश्यक हुन्छ।















