भोजसिद्ध माविको प्रधानाध्यापकमा गीता न्यौपाने नियुक्त

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–५ बसन्तपुरस्थित भोजसिद्ध माध्यमिक विद्यालयको प्रधानाध्यापकमा गीता न्यौपाने नियुक्त हुनुभएको छ ।

विद्यालय व्यवस्थापन समितिको वैशाख ९ गते बसेको बैठकले न्यौपानेलाई प्रधानाध्यापक नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई वैशाख २२ गते शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले स्वीकृति दिएको विद्यालयले जनाएको छ ।

यसअघि प्रधानाध्यापक रहनुभएका अर्जुन पण्डितले अनिवार्य अवकाश पाएपछि रिक्त रहेको पदमा न्यौपानेलाई जिम्मेवारी दिइएको हो । २९ वर्षदेखि शिक्षण पेशामा सक्रिय न्यौपाने २०६६ सालदेखि भोजसिद्ध माविमा अध्यापन गराउँदै आउनुभएको छ । उहाँले माध्यमिक तहमा लेखा र अर्थशास्त्र विषय अध्यापन गर्दै आउनुभएको छ ।

नवनियुक्त प्रधानाध्यापक न्यौपानेले विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै अतिरिक्त कक्षा तथा उपचारात्मक कक्षा सञ्चालन गरिने बताउनुभएको छ । साथै अभिभावकसँग निरन्तर समन्वय र सम्पर्क बढाएर विद्यार्थीको सिकाइ उपलब्धि सुधार गरिने उहाँको भनाइ छ ।

यसैबीच विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा अमृत थापा चयन हुनुभएको छ । संघीय सरकारले जारी गरेको नयाँ कार्यविधिअनुसार विद्यालय व्यवस्थापन समितिमा अभिभावक मात्रै रहन पाउने व्यवस्था भएपछि यसअघि अध्यक्ष रहनुभएका रामप्रसाद कालाखेती स्वतः पदमुक्त हुनुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्यसमेत रहनुभएका थापा वैशाख ३० गते अध्यक्ष चयन हुनुभएको हो । कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा हाल करिब ४५० विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.