हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा बागमती प्रदेशका २१ विद्यालयको नतिजा शून्य आएको छ । ती विद्यालयबाट सहभागी एक जना विद्यार्थी पनि उत्तीर्ण हुन नसकेका हुन् ।
राष्ट्रिय परीक्षा बोर्डको तथ्यांकअनुसार शून्य नतिजा आउने विद्यालयमध्ये २० वटा सामुदायिक र एउटा संस्थागत विद्यालय रहेका छन् ।
बागमती प्रदेश शिक्षा निर्देशनालयका महानिर्देशक गोपालप्रसाद कँडेलका अनुसार सबैभन्दा धेरै सिन्धुपाल्चोकका ७ विद्यालयको नतिजा शून्य आएको छ । उक्त जिल्लाबाट १५३ विद्यालयका विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।
काभ्रेका ४ विद्यालयका विद्यार्थी पनि उत्तीर्ण हुन सकेनन् । त्यसैगरी मकवानपुरका ४ विद्यालयको नतिजा शून्य आएको छ । राक्सिराङ गाउँपालिका–४ स्थित कालिका मावि, राक्सिराङ–६ स्थित राष्ट्रिय मावि, राक्सिराङ–८ स्थित मावि देवीटार तथा भीमफेदी गाउँपालिका–८ स्थित पञ्चकन्या माविको नतिजा शून्य रहेको जनाइएको छ ।
मकवानपुरका संस्थागत तथा सामुदायिक गरी १४२ विद्यालयका ५ हजार ५ सय २७ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।
यस्तै, चितवनका एक संस्थागत र तीन सामुदायिक गरी चार विद्यालयको नतिजा पनि शून्य आएको छ । बागमती प्रदेशमा संस्थागत विद्यालयको नतिजा शून्य आउने जिल्ला भने चितवन मात्रै रहेको जनाइएको छ ।
धादिङ र ललितपुरका पनि एक–एक विद्यालयको नतिजा शून्य आएको छ । तर काठमाडौं, भक्तपुर, नुवाकोट, रसुवा, सिन्धुली, दोलखा र रामेछापका कुनै विद्यालयको नतिजा शून्य नआएको शिक्षा निर्देशनालयले जनाएको छ ।
बागमती प्रदेशभर सामुदायिक र संस्थागत गरी २ हजार ८ सय ८३ विद्यालयका विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।















