राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज देशभर वडा अधिवेशन सञ्चालन गर्दैछ। गत वैशाख २० गतेअघि तदर्थ समिति गठन भएका करिब १५ सय वडामा अधिवेशन हुन लागेको पार्टीले जनाएको छ।
रास्वपाका सङ्गठन विभाग सचिव शंकर श्रेष्ठ का अनुसार देशभर करिब तीन हजार वडामा तदर्थ समिति गठन गरिएको छ। तीमध्ये आधाभन्दा बढी वडाको अधिवेशन चुनावअघि र पछि सम्पन्न भइसकेको छ भने बाँकी वडाको अधिवेशन आज आयोजना गरिएको हो।
पार्टीले वडा अधिवेशन दुई चरणमा गर्ने निर्णय गरेको छ। जेठ ३ गतेअघि तदर्थ समिति गठन हुने वडाको अधिवेशन भने जेठ १६ गतेका लागि तय गरिएको छ।
त्यस्तै, पालिका अधिवेशन जेठ ९ र १७ गते दुई चरणमा गरिनेछ। पार्टीका अनुसार कुनै पालिकामा ३० प्रतिशत वडा अधिवेशन सम्पन्न भएमा माथिल्लो तहको अधिवेशन रोक्न नपर्ने व्यवस्था गरिएको छ।
रास्वपाले जिल्ला अधिवेशन जेठ २३ र २४ गते गर्ने तालिका बनाएको छ भने प्रदेश अधिवेशन जेठ २६ गतेदेखि सुरु भएर असार १ गतेसम्म चल्नेछ।
पार्टीको प्रथम केन्द्रीय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवन मा आयोजना हुने तय गरिएको छ। पार्टी स्थापना भएको चार वर्ष पूरा भएकै अवसरमा पहिलो महाधिवेशन गर्न लागिएको रास्वपाले जनाएको छ।
























