मनहरी — मनहरी गाउँपालिकाको प्रशासनिक कामकाज आगामी आर्थिक वर्षदेखि आफ्नै नयाँ भवनबाट सञ्चालन हुने भएको छ। वडा नं. ९ रजैयास्थित वन क्षेत्रमा निर्माणाधीन भवन अन्तिम चरणमा पुगेपछि पालिकाले नयाँ भवनमा सर्ने तयारी थालेको हो।
प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीका अनुसार कुनै अवरोध नआए आगामी आर्थिक वर्ष २०८३/०८४ देखि गाउँपालिकाका सम्पूर्ण सेवा नयाँ भवनबाट प्रवाह गरिनेछ।
गाउँपालिकाले मन्त्रिपरिषद्बाट स्वीकृति पाएपछि हरियाली सामुदायिक वन क्षेत्रको जग्गा उपयोग गरेर भवन निर्माण अघि बढाएको हो। भवन निर्माणका लागि आवश्यक डिपिआर र जग्गा प्राप्तिको प्रक्रिया अघिल्लो स्थानीय तहकै कार्यकालमा सुरु भए पनि २०७९ पछि नयाँ नेतृत्व आएसँगै प्रक्रिया तीव्र बनाइएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनुभयो।
उहाँका अनुसार जग्गा प्राप्तिका लागि लामो प्रयासपछि निर्माण कार्यले गति लिएको हो। हाल तामाकोशी ढाँचा जेभीले तीनतले भवन निर्माण गरिरहेको छ। भवनमा सभाहलसहित विभिन्न साना हलसमेत रहनेछन्।
पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको क्षेत्रमा निर्माण भइरहेको भवनका लागि ८ करोड २८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। निर्माण कम्पनीले थपिएको समयसीमाअनुसार आगामी असार तेस्रो सातासम्म भवन हस्तान्तरण गर्ने लक्ष्य राखिएको प्राविधिक प्रमुख टुकराज चौधरीले जानकारी दिनुभयो।
हाल गाउँपालिकाले वडा नं. ९ मा भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएको छ भने वडा नं. ३ मा रहेका सभाहल, समावेशी भवन र सेफ हाउससमेत प्रशासनिक प्रयोजनमा प्रयोग भइरहेका छन्।
नयाँ भवन सञ्चालनमा आएपछि सबै सेवा एउटै स्थानबाट उपलब्ध हुने भएकाले सेवाग्राहीले विभिन्न कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने प्रशासन शाखा प्रमुख अन्जना सुवेदीले बताउनुभयो।















