भीमफेदी खानेपानी समितिमाथि उपभोक्ताको आक्रोश, जेठ २८ भित्र अडिटसहित साधारण सभा गर्न निर्देशन

भीमफेदी
भीमफेदी बजार बृहत खानेपानी समितिको सार्वजनिक सुनुवाइ कार्यक्रममा उपभोक्ताहरूले तीव्र असन्तुष्टि जनाएका छन्। २०८३ जेठ २ गते सम्पन्न सार्वजनिक सुनुवाइमा समितिले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र जवाफदेहिताप्रति उपभोक्ताहरू असन्तुष्ट भएपछि कार्यक्रम तनावग्रस्त बनेको थियो।

विवाद बढेपछि सोम बहादुर लामा ले हस्तक्षेप गर्दै आगामी २०८३ जेठ २८ गतेभित्र समितिको साधारण सभा बोलाउन तथा २०७८ सालयताको सम्पूर्ण आय–व्ययको सरकारी मान्यता प्राप्त लेखापरीक्षकबाट अडिट गराउन निर्देशन दिनुभएको छ।

कार्यक्रम प्रमोद लाल श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको थियो। समितिका अध्यक्ष सानु थापा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन पम्फा योञ्जनले गर्नुभएको थियो। कार्यक्रममा वडा नं. ५ का अध्यक्ष जहार सिं लामा विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

सार्वजनिक सुनुवाइमा उपभोक्ताका तर्फबाट सुरेन्द्र थिकेले प्रश्नसहितको मागपत्र प्रस्तुत गर्नुभएको थियो। त्यसको जवाफमा अध्यक्ष सानु थापाले प्रस्तुत गरेको विवरण पारदर्शी र विश्वसनीय नभएको भन्दै उपभोक्ताहरूले विरोध जनाएका थिए।

समितिले प्रस्तुत गरेको विवरणअनुसार दातृ निकायबाट रु. ८ लाख ५७ हजार ४९७ प्राप्त भएको र कुल खर्च रु. १८ लाख ८५ हजार ६७० पुगेको उल्लेख गरिएको थियो। त्यसमध्ये रु. ८ लाख ७० हजार ६५५ इस्टिमेटबाहिर खर्च गरिएको तथा थप योजनाका लागि रु. २ लाख ७२ हजार १०३ प्राप्त भएको जानकारी दिइएको थियो।

त्यसैगरी, जडान शुल्कबापत रु. १० लाख ९९ हजार ७३१ तथा २०८२ चैतसम्मको मासिक शुल्कबापत रु. १४ लाख ६० हजार ९५५ संकलन भएको समितिले जनाएको छ। बैंक मौज्दात रु. ४३ हजार ३४१ मात्र रहेको र नगद मौज्दात रु. ५ लाख ९८ हजार ९८५ देखाइएको थियो।

तर, प्रस्तुत आर्थिक विवरण सरकारी मान्यता प्राप्त अडिटरबाट प्रमाणित नभएको भन्दै उपभोक्ताहरूले त्यसलाई अस्वीकार गरेका छन्। साथै, उठेको रकमको खर्च विवरण स्पष्ट नभएको आरोपसमेत लगाइएको छ।

समितिले अझै रु. ९ लाख ५४ हजार ४७५ भुक्तानी गर्न बाँकी रहेको तथा उपभोक्ताबाट उठ्न बाँकी जडान र मासिक शुल्क रु. १३ लाख ९५८ रहेको जनाएको छ।

उपभोक्ताको दबाब र वडा कार्यालयको निर्देशनपछि अब समितिले विगत पाँच वर्षको सम्पूर्ण वित्तीय विवरण पारदर्शी रूपमा अडिट गराउनुपर्ने भएको छ। आगामी जेठ २८ गते हुने साधारण सभाले समितिको आर्थिक गतिविधिबारे यथार्थ सार्वजनिक गर्ने अपेक्षा स्थानीयवासीले गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.