बागमती प्रदेशको १० महिनामा ३१ अर्बभन्दा बढी राजस्व सङ्कलन, घरजग्गा र सवारी कर मुख्य आधार

मकवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ । प्रदेश सरकारको आम्दानीमा घरजग्गा रजिष्ट्रेसन तथा सवारीसाधन करले सबैभन्दा ठूलो योगदान दिएको छ ।

आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत इन्द्रराज सञ्ज्यालका अनुसार साउनदेखि वैशाखसम्म घरजग्गा रजिष्ट्रेसन, सवारीसाधन कर तथा राजस्व बाँडफाँट शीर्षकबाट मात्रै २० अर्ब एक करोड तीन लाख ८९ हजार रुपैयाँ सङ्कलन भएको हो ।

यस अवधिमा सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानमार्फत सात अर्ब ९४ करोड २७ लाख ५६ हजार रुपैयाँ प्रदेश सरकारको खातामा आएको मन्त्रालयले जनाएको छ । त्यस्तै, प्रदेशको आन्तरिक स्रोतबाट तीन अर्ब २४ करोड ५२ लाख ४१ हजार रुपैयाँ राजस्व उठेको छ ।

प्रदेश सरकारले अपेक्षित लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको पनि स्वीकार गरेको छ । आर्थिक बजारमा देखिएको तरलता अभावका कारण घरजग्गा कारोबार तथा नयाँ सवारी खरिद–बिक्रीमा कमी आउनु यसको मुख्य कारण मानिएको छ ।

यसबाहेक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा राजस्व सङ्कलनसँग सम्बन्धित विभिन्न सरकारी निकायमा पुगेको क्षतिले समेत आम्दानी प्रभावित भएको अधिकृत सञ्ज्यालले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.