एनसेल अन्तर्गतको एनसेल फाउन्डेसनले एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि देशव्यापी ‘एनसेल एसईई छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको छ । युवा सशक्तीकरण र शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यसहित फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यलाई यस वर्ष पनि निरन्तरता दिएको हो ।
कार्यक्रमअन्तर्गत यस वर्ष देशभरबाट १०० जना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । छात्रवृत्तिका लागि सातै प्रदेशमा लिखित परीक्षा र अन्तर्वार्तामार्फत विद्यार्थी छनोट गरिनेछ । आर्थिक अवस्था कमजोर भए पनि अध्ययनमा क्षमता भएका विद्यार्थीलाई विशेष प्राथमिकता दिइने बताइएको छ ।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले अध्ययन अवधिभर एनसेलबाट १२ महिनासम्म सीमित डेटा र भ्वाइस सेवासहितको निःशुल्क सञ्चार सुविधा पनि पाउनेछन् । यसले विद्यार्थीलाई अध्ययन र विभिन्न अवसरहरूसँग निरन्तर जोडिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर द्यष्कजबपजब ीबहmष् प्जबमपब ले शिक्षा देशको भविष्य निर्माण गर्ने प्रमुख आधार भएको उल्लेख गर्दै भौगोलिक अवस्था र आर्थिक सीमितताका कारण कुनै पनि युवाको सपना अधुरो रहन नहुने बताइन् ।
उनका अनुसार प्रदेशस्तरीय परीक्षा र पारदर्शी छनोट प्रक्रियामार्फत अवसरबाट वञ्चित तर प्रतिभाशाली विद्यार्थीहरूलाई उच्च शिक्षामा पहुँच दिलाउने लक्ष्य राखिएको छ ।
हन्ड्रेड ग्रुपद्वारा सञ्चालन हुँदै आएको ‘प्रोजेक्ट शिक्षा’ले पनि थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । सन् २०१७ देखि सञ्चालनमा रहेको उक्त कार्यक्रमले नेपालभरका एसईई उत्तीर्ण विद्यार्थीलाई शैक्षिक अवसर प्रदान गर्दै आएको छ ।
गत वर्ष पनि एनसेल फाउन्डेसनले यही कार्यक्रममार्फत ५० जना विद्यार्थीलाई छात्रवृत्ति दिएको थियो । ती विद्यार्थीहरू हाल विभिन्न शैक्षिक संस्थामा कक्षा १२ मा अध्ययनरत रहेका छन् ।















