हेटौंडा–काठमाडौं आवतजावतलाई सहज बनाउन भीमफेदी–देउराली–सिस्नेरी सडकको विकल्पका रूपमा भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक विस्तारको योजना अघि बढाइएको छ। बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले प्राविधिक टोलीसहित प्रस्तावित सडकको स्थलगत निरीक्षण गर्दै यसको सम्भाव्यता अध्ययन गर्नुभएको हो।
भीमफेदी गाउँपालिकाको पहलमा गरिएको अनुगमनमा मन्त्री देवकोटासँग यातायात पूर्वाधार निर्देशनालयका निर्देशक नवीनकुमार सिंह र पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुख सुजन भण्डारी सहभागी हुनुहुन्थ्यो। टोलीले सडकको भौगोलिक अवस्था, कृषि सम्भावना, हरित उद्यमशीलता र पर्यटन विकासका पक्षबारे जानकारी लिएको थियो।
मन्त्री देवकोटाले यो सडक केवल यातायातको विकल्प मात्र नभई स्थानीय आर्थिक विकासको आधार बन्न सक्ने बताउनुभयो। उहाँका अनुसार सडकले गाउँलाई बजारसँग मात्र नजोडी गाउँका कृषि उत्पादनलाई बजारसम्म पुर्याउने माध्यम बन्नुपर्छ। कृषि र पर्यटनसँग जोडिएका उद्यमलाई प्राथमिकता दिएर पकेट क्षेत्र विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कोगटे र इपा क्षेत्र प्राकृतिक सौन्दर्य, चिसो मौसम, हिमाली दृश्य र कृषि उत्पादनका कारण विशेष सम्भावना बोकेको क्षेत्र मानिन्छ। इपा खोलाका दहहरू पर्यटक आकर्षणको केन्द्र बनेका छन् भने गाउँपालिकाले चालु आर्थिक वर्षमा मात्र पर्यटनबाट २५ लाख रुपैयाँ राजस्व उठाइसकेको छ। यहाँ तरकारी खेतीसँगै ‘सिल्भर डलर’ नामक व्यावसायिक खेतीसमेत विस्तार हुँदै गएको छ।
स्थानीय तहका अनुसार प्रस्तावित सडक करिब ३० किलोमिटर लामो हुनेछ, जसमध्ये ९ किलोमिटर कालोपत्रे भइसकेको छ। आवश्यक तीनमध्ये दुईवटा पुल तयार भइसकेका छन् भने एउटा पुल निर्माण हुन बाँकी छ। अहिलेको मार्गभन्दा केही लामो भए पनि यो सडक बढी सुरक्षित र कम जोखिमयुक्त हुने दाबी गरिएको छ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले करिब ५० करोड रुपैयाँ लगानीमा सडक पूर्ण रूपमा स्तरोन्नति गर्न सकिने बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षको बजेटमार्फत बहुवर्षीय योजनामा समेटेर निर्माण प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।
स्थानीयवासीले पनि देउराली क्षेत्रमा हुने सास्ती र ट्राफिक जाम अन्त्य गर्ने भरपर्दो विकल्पका रूपमा यो सडकलाई आशाका साथ हेरेका छन्।















