हेटौँडामा जेठ १३ देखि राष्ट्रिय ओपन बक्सिङ प्रतियोगिता, दुई सय खेलाडी भिड्ने

हेटौँडा/हेटौँडामा राष्ट्रियस्तरको अल नेपाल ओपन बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ। जिल्ला बक्सिङ संघ मकवानपुरको आयोजनामा जेठ १३ देखि १६ गतेसम्म कभर्ड हल पारिजातपथमा प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रदेश खेलकुद विकास परिषद्को करिब २४ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोगमा हुने प्रतियोगितामा देशभरका २८ क्लबका झण्डै २०० खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ। आयोजकका अनुसार प्रतियोगिताको कुल अनुमानित खर्च करिब ३० लाख रुपैयाँ पुग्नेछ।

प्रतियोगितामा युथ–१९ र युथ–२२ उमेर समूहअन्तर्गत पुरुषतर्फ १४ तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ दुवै उमेर समूहमा एक–एक तौल समूह समावेश गरिएको छ।

आयोजक संस्थाका अध्यक्ष सुशील घिमिरेले प्रतियोगिताले नयाँ खेलाडी उत्पादन र राष्ट्रियस्तरमा प्रतिभा पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

विजेतातर्फ प्रत्येक तौल समूहका प्रथम र द्वितीय खेलाडीले क्रमशः १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। सेमिफाइनलसम्म पुग्ने खेलाडीलाई ३ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। साथै उत्कृष्ट खेलाडी, प्रशिक्षक र क्लबलाई पनि नगद १०–१० हजार रुपैयाँसहित सम्मान गरिनेछ।

प्रशिक्षक लालबहादुर पौडेलका अनुसार प्रतियोगिताको प्रत्येक दिन उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई ‘बक्सर अफ द डे’ घोषणा गरिनेछ।

संघका उपाध्यक्ष उज्ज्वल भण्डारीले मकवानपुरबाट दुई टोली सहभागी हुने जानकारी दिँदै अपुग बजेट स्थानीय दाताको सहयोगबाट व्यवस्थापन गरिने बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.