हेटौँडा । वर्षौंदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव ले हेटौँडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गर्दै उद्योग पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताएकी हुन् ।
औद्योगिक क्षेत्र निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले हेटौँडा कपडा उद्योगलाई पुनर्जीवन दिन सरकार गम्भीर रहेको बताइन् ।
“अब कपडा उद्योग सञ्चालनमा ल्याउन आवश्यक काम धमाधम अगाडि बढाइन्छ,” उनले भनिन्, “सरकारी स्वामित्वका उद्योगलाई पुनः चलायमान बनाउने सरकारको नीतिअनुसार हेटौँडा कपडा उद्योगलाई प्राथमिकतामा राखिएको छ ।”
निरीक्षणका क्रममा मन्त्री यादवले उद्योगका भौतिक संरचना, मेसिन उपकरण तथा औद्योगिक पूर्वाधारको अवस्थाबारे जानकारी लिएकी थिइन् । लामो समय सञ्चालनविहीन हुँदा उद्योगका धेरै संरचना जीर्ण बन्दै गएको भन्दै उनले आवश्यक मर्मत, व्यवस्थापन तथा लगानी मोडालिटीबारे अध्ययन भइरहेको जानकारी दिइन् ।
सरकारले पछिल्लो समय बन्द तथा रुग्ण उद्योग पुनः सञ्चालन गर्ने नीति अघि बढाइरहेका बेला हेटौँडा कपडा उद्योगलाई पनि प्राथमिकतामा राखिएको हो । मन्त्री यादवले उद्योग सञ्चालनका लागि आवश्यक प्राविधिक तथा आर्थिक पक्षबारे मन्त्रालयले थप गृहकार्य गरिरहेको बताइन् ।
२०४६ सालपछि भएको राजनीतिक नियुक्ति, बन्द र हडतालका कारण उद्योग निरन्तर घाटामा जान थालेपछि २०५७ माघ १८ गते उद्योग बन्द गर्ने निर्णय गरिएको थियो । कुनै समय हेटौँडा कपडा उद्योग देशकै प्रमुख सरकारी उद्योगमध्ये एक मानिन्थ्यो । उद्योगमा त्यतिबेला करिब १२ सय श्रमिकले प्रत्यक्ष रोजगारी पाएका थिए ।
देशमै कपडा उत्पादन गर्ने लक्ष्यसहित २०३२ भदौ ३० गते कम्पनी दर्ता गरिएको उद्योगले २०३५ कात्तिकबाट परीक्षण उत्पादन सुरु गरेको थियो । २०३५ माघ ५ गते विधिवत् उद्घाटन भएको उद्योगले सुती धागो, कोरा, रंगीन, बुट्टेदार तथा सेतो कपडा उत्पादन गर्दै आएको थियो । उद्योगले नेपाली सेनाका लागि आवश्यक कपडा समेत उत्पादन गर्ने गरेको थियो ।
उद्योग पुनः सञ्चालनमा आए मकवानपुरसहित आसपासका जिल्लामा रोजगारी सिर्जना हुनुका साथै स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।















