हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१२ भोर्ले क्षेत्रमा साइकल दुर्घटना हुँदा दुई जना बालक घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार बिहान करिब ११ः२५ बजे भोर्लेबाट रमनटारतर्फ जाँदै गरेको साइकल जंगलको भित्री सडकखण्डमा आफैं अनियन्त्रित भई करिब ३० देखि ३५ मिटर तल भिरमा खसेको थियो । दुर्घटनाको जानकारी पाएपछि प्रहरी चौकी लेवट बसामाडीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनास्थल पुग्दा स्थानीयवासीले घाइते बालकहरूलाई भिरबाट उद्धार गरी सडकसम्म ल्याइसकेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको थियो ।
दुर्घटनामा हेटौँडा–१२ भोर्लेका गंगाराम पाख्रिनका १२ वर्षीय छोरा साजन पाख्रिन घाइते भएका छन् । उनको टाउको, मुख तथा दुवै हातखुट्टामा चोट लागेको छ । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको अवस्था मध्यम रहेको छ ।
त्यसैगरी, सोही स्थानका कुमार थापा मगरका १२ वर्षीय छोरा रोणित थापा मगर गम्भीर घाइते भएका छन् । उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । उनलाई उपचारका लागि सीएमसी चुरेहिल अस्पताल मकवानपुर लगिएको छ । प्रहरीका अनुसार उनी अर्धचेत अवस्थामा रहेका छन् ।
रोणितका आफन्तका अनुसार साइकल साजन पाख्रिनले चलाएका थिए भने रोणित पछाडि सवार रहेका थिए । दुर्घटनामा परेको साइकल प्रहरीले नियन्त्रणमा लिई प्रहरी चौकी लेवट बसामाडीमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















