राष्ट्रपति रनिङ शिल्डका लागि मकवानपुरका खेलाडी बन्द प्रशिक्षणमा

बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि मकवानपुरमा बन्द प्रशिक्षण सुरु गरिएको छ । प्रदेश खेलकुद विकास परिषद् बागमती को आयोजनामा जेठ १३ देखि १५ गतेसम्म काठमाडौंमा हुने प्रतियोगिताका लागि बिहीबारदेखि प्रशिक्षण सुरु गरिएको हो ।

मंगलबारसम्म सञ्चालन हुने बन्द प्रशिक्षणमा उसु, तेक्वान्दो, कराते, कबड्डी, भलिबल र एथ्लेटिक्स गरी ६ विधाका खेलाडी सहभागी छन् । प्रशिक्षणका लागि करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

हेटौँडाबाहिरबाट आएका खेलाडीका लागि खानासहित बस्ने व्यवस्था गरिएको छ भने अन्य खेलाडीका लागि डाइट तथा खाजाको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

गत वर्ष विभिन्न कारणले बन्द प्रशिक्षण सञ्चालन हुन नसके पनि यस वर्ष खेलाडीलाई व्यवस्थित रूपमा प्रशिक्षणमा राखिएको छ । अघिल्लो प्रतियोगितामा मकवानपुर चौथो स्थानमा रहेको थियो भने यस वर्ष अझ राम्रो नतिजा ल्याउने लक्ष्य राखिएको छ ।

जिल्लाबाट छनोट भएका खेलाडी जेठ १२ गते काठमाडौं प्रस्थान गर्ने बताइएको छ । उसुतर्फको प्रशिक्षण हेटौँडा–४ स्थित हुप्रचौरको खेलकुद भवन, हेटौँडा–८ कमानेस्थित चन्द्रोदय माध्यमिक विद्यालयको चौर तथा बागमती गाउँपालिका–फापरबारीको ठाडीखोलामा भइरहेको विश्वनाथ पाठक ले जानकारी दिनुभयो ।

तेक्वान्दोको प्रशिक्षण हेटौँडा–४ कर्रास्थित कभर्डहलमा भइरहेको छ । एथ्लेटिक्सतर्फ वैकल्पिकसहित २४ खेलाडी सहभागी रहने बताइएको छ । गत वर्ष एथ्लेटिक्समा मकवानपुर दोस्रो भएको थियो ।

करातेतर्फ बकैया गाउँपालिकाका खेलाडीको सहभागिता बढी रहेको छ भने भलिबलतर्फ छात्र–छात्रा गरी ९/९ जना खेलाडी प्रशिक्षणमा रहेको प्रशिक्षक नरेन्द्र मोक्तान ले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.