मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७ सुकौरास्थित भित्री सडकखण्डमा आइतबार बिहान टिपर दुर्घटना हुँदा सवारी साधनमा क्षति पुगेको छ।
खोटार ढुंगा खानीबाट ढुंगा बोकेर शिवम् सिमेन्ट फ्याक्ट्रीतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३५८० नम्बरको टिपर विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३–००१ क २५५७ नम्बरको टिपरलाई साइड दिने क्रममा अनियन्त्रित भई सडकको नालिमा पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा टिपरको अगाडिको बायाँ सिसा चर्किएको तथा बायाँ भागको बडी कुच्चिएको छ। घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनापछि अस्थायी प्रहरी पोस्ट धादिङबाट प्रहरी सहायक हवल्दार महेन्द्र महतोको कमाण्डमा टोली खटिएको थियो। हाल दुर्घटनाग्रस्त टिपर उठाउने काम भइरहेको छ।
दुर्घटनामा परेको टिपर चालक मकवानपुरगढी गाउँपालिका–३ निवासी अन्दाजी २८ वर्षीय अर्बिन दाहाल रहेका छन्।















