‘मेरो विद्यालय मेरो सहयोग’ अभियानबाट कालिका आधारभूत विद्यालयमा प्रोजेक्टर र कम्प्युटर व्यवस्थापन, सहयोगका लागि थप अपिल

हेटौंडा–१९ स्थित MGML सञ्चालित श्री कालिका आधारभूत विद्यालयमा “मेरो विद्यालय मेरो सहयोग” अभियानअन्तर्गत विभिन्न व्यक्ति तथा सरोकारवालाको सहयोगमा विद्यालयका लागि प्रोजेक्टर व्यवस्थापन गरिएको छ । आर्थिक अवस्था कमजोर रहेको विद्यालयमा समुदायस्तरबाट गरिएको सहयोगले विद्यालयमा नयाँ उत्साह थपिएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापकले “हामी गरेर देखाउँछौँ” भन्ने प्रतिबद्धतासहित जिम्मेवारी सम्हालेको ६ महिनामै विद्यालयमा उल्लेखनीय काम सम्पन्न भएको बताइएको छ । अभियानमा अभिभावक, शिक्षक तथा स्थानीय समुदाय सक्रिय रूपमा जुटेका थिए ।

यसैक्रममा GHNA मा कार्यरत काभ्रेपलाञ्चोक निवासी चन्द्र श्रेष्ठ ले विद्यालयलाई निशुल्क कम्प्युटर उपलब्ध गराएका छन् । विद्यालयले उक्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोग आवश्यक रहेको जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि हेटौंडा–१९ का वडा अध्यक्ष नमराज सुवेदी ले विद्यालय सुधारका लागि अभिभावक, शिक्षक, स्थानीय सरकार तथा सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए । त्यसैगरी शिक्षा महाशाखाका रमेश बिडारी ले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिमा सबै पक्षको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए ।

कार्यक्रममा विभिन्न बालगीतमा विद्यार्थीहरूले नृत्य प्रदर्शन गरेका थिए भने वडा नं. १९ अन्तर्गतका विभिन्न विद्यालयहरूको समेत सहभागिता रहेको थियो । साथै, श्री कालिका आधारभूत विद्यालय द्वारा शैक्षिक प्रदर्शनीसमेत गरिएको थियो । प्रदर्शनीमा विद्यार्थीहरूले निर्माण गरेका शैक्षिक सामग्री, सिर्जनात्मक प्रस्तुति तथा सिकाइ गतिविधिहरू प्रदर्शन गरिएको थियो ।

विद्यालयले आगामी दिनमा पनि शैक्षिक सुधार, प्रविधिमैत्री शिक्षण तथा भौतिक पूर्वाधार विकासका लागि सहयोग आवश्यक रहेको जनाएको छ । सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले ९८६७४२१७३२ नम्बरमा सम्पर्क गर्न विद्यालयले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.