हेटौँडा । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना तथा एएचएफ नेपालको सहयोगमा सोमबार हेटौँडामा सञ्चारकर्मीहरूका लागि एचआईभी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डा। नरेन्द्रकुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा मकवानपुरमा क्रियाशील सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा एएचएफ नेपालका वरिष्ठ कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले एचआईभी सम्बन्धी मुख्य विषयमा सञ्चारकर्मीहरूलाई जानकारी गराउँदै जिम्मेवार र संवेदनशील समाचार सम्प्रेषणको आवश्यकता औँल्याउनुभयो । उहाँले जनचेतना अभिवृद्धि र प्रभावकारी पैरवीका लागि तथ्यमा आधारित तथा नैतिक समाचार सम्प्रेषण आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको वर्तमान एचआईभी अवस्था, प्राथमिकता र नियन्त्रणका प्रयासबारे सञ्चारमाध्यमको बुझाइ बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो यसैगरि उहाले संयोजकले संस्थाको पृष्ठभूमिबारे जानकारी दिँदै एएचएफ विश्वकै ठूलो एचआईभी तथा एड्स स्वास्थ्य सेवा प्रदान गर्ने संस्था भएको बताउनुभयो। उहाँका अनुसार संस्थाले हाल ५० देशमा ३० लाखभन्दा बढी मानिसलाई सेवा प्रदान गरिरहेको छ।
नेपालमा सन् २००८ मा स्थापना भएको एएचएफ नेपालले सन् २००९ देखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमार्फत राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रसँग सहकार्य गर्दै सेवा सुरु गरेको उहाँले जानकारी दिनुभयो। “आर्थिक क्षमता नभएका व्यक्तिलाई समेत आधुनिक उपचार र सहयोग” भन्ने उद्देश्यसहित संस्थाले एचआईभी संक्रमित व्यक्तिहरूलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ थियो ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका जनस्वास्थ्य प्रशासक सन्जु रोईले प्रदेशको एचआईभी अवस्थाबारे तथ्यांक प्रस्तुत गर्नुभयो। उहाँका अनुसार बागमती प्रदेशमा करिब ७ हजार ४ सय मानिसमा एचआईभी सङ्क्रमण पुष्टि भएको छ । तराईका सीमा क्षेत्र, काठमाडौं र पोखरा संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रका रूपमा चिनिएका छन् ।
हाल निर्देशनालयले लागूऔषध प्रयोगकर्ताका लागि प्रतिस्थापन उपचार सेवा तथा एचआईभी परीक्षण र परामर्श सेवा सञ्चालन गरिरहेको जनाएको छ। सन् २०२६ सम्ममा ९५–९५–९५ लक्ष्य हासिल गर्ने योजना रहे पनि हाल बागमती प्रदेशका ८६ प्रतिशत संक्रमितले मात्रै आफ्नो स्वास्थ्य अवस्था थाहा पाएका छन्। संक्रमितमध्ये ९७ प्रतिशत नियमित उपचार सेवामा आबद्ध रहेका छन् भने उपचारमा रहेका मध्ये ८५ प्रतिशतको शरीरमा सङ्क्रमणको असर नियन्त्रणमा आएको तथ्यांक प्रस्तुत गरिएको थियो । कार्यक्रममा पछिल्लो समय नयाँ संक्रमित फेला पर्ने क्रम जारी रहे पनि अघिल्ला वर्षहरूको तुलनामा संक्रमण दर घट्दो क्रममा रहेको जानकारी दिइएको थियो।















