आज बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

मकवानपुर । बागमती प्रदेश सरकार ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि तयार पारेको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । यसका लागि मङ्गलबार साँझ ५ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार बैठकमा दीपक प्रसाद देवकोटा ले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने कार्यसूची रहेको छ । बैठकमा सहभागी हुन सांसदहरूलाई औपचारिक पोसाकमा निर्धारित समयभन्दा १५ मिनेटअघि उपस्थित हुन निर्देशन दिइएको छ ।

यसअघि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको थियो । सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ का अनुसार प्रदेशसभामा प्रस्तुत गर्ने तयारीसहित नीति तथा कार्यक्रम स्वीकृत गरिएको हो ।

बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा प्रस्तावित बागमती प्रदेश सहरी नीति स्वीकृत गर्नुका साथै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ल्याएको ‘जीवनाशक विषादी व्यवस्थापन’ सम्बन्धी विधेयकलाई थप अध्ययनका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ ।

त्यसैगरी कृषि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८३ को मस्यौदालाई मन्त्रिपरिषद्को समितिमा पठाइएको मन्त्री तामाङले जानकारी दिए । उक्त कार्यविधिमार्फत कृषि उद्योग तथा व्यवसाय प्रवर्द्धनका लागि सहुलियतपूर्ण ऋण र ब्याज अनुदानको व्यवस्था गरिने जनाइएको छ ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रदेश जनसङ्ख्या नीति–२०८३ लाई अध्ययन तथा परिमार्जनका लागि समितिमा पठाएको छ भने खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले तयार पारेको विद्युत् विकास सम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.