हेटौँडा र काठमाडौं जोड्ने छोटो दूरीको चित्लाङ–थानकोट मार्ग स्तरोन्नतिका लागि जेठ १७ गतेदेखि ३० गतेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ ।
सडक डिभिजन काठमाडौंका अनुसार गणेशमान मार्ग अन्तर्गत पर्ने उक्त सडक खण्डमा ढलान, कालोपत्रे तथा टेवा पर्खाल निर्माणलगायतका काम गर्न लागिएकाले सवारी सञ्चालन रोक्न लागिएको हो ।
सडक डिभिजन काठमाडौं का इन्जिनियर पुरुषोत्तम भण्डारी ले भौगोलिक अवस्थाका कारण निर्माणस्थल हुँदै सवारीसाधन सञ्चालन गर्दा काममा अवरोध र दुर्घटनाको जोखिम बढ्ने भएकाले सडक बन्द गरेर निर्माण कार्य अघि बढाउन लागिएको जानकारी दिए ।
उनका अनुसार करिब साढे सात किलोमिटर सडक खण्डमा कालोपत्रे र ढलानको काम हुनेछ । मकवानपुरतर्फ करिब १९ सय मिटर क्षेत्रमा तथा बाँकी काठमाडौंतर्फको भागमा निर्माण कार्य गरिनेछ । साथै तीनदेखि चार स्थानमा टेवा पर्खाल निर्माण र १२ सय मिटर सडक ढलान गरिने योजना रहेको छ ।
बजारमा बिटुमिन (अलकत्रा) अभाव रहेकाले उपलब्ध भएमा कालोपत्रेको कामसमेत अघि बढाइने जनाइएको छ । अर्को ठेक्काअन्तर्गतको ढलान तथा कालोपत्रे कार्य पनि अलकत्रा अभावकै कारण सुरु हुन नसकेको सडक डिभिजनले जनाएको छ ।
स्तरोन्नतिका क्रममा पानीघट्ट देखि चित्लाङ बजार सम्मको सडक पूर्ण रूपमा बन्द हुनेछ । वैकल्पिक मार्ग प्रयोगका लागि आवश्यक सहजीकरण गर्न थाहा नगरपालिका र चन्द्रगिरी नगरपालिका लाई आग्रह गरिएको छ ।















