हेटौँडा । हेटौँडामा यही जेठ १५ देखि १७ गतेसम्म ‘नवोदय मुन–२०८३’ आयोजना हुने भएको छ । नवोदय नमुना संयुक्त राष्ट्र सङ्घको आयोजनामा हुने कार्यक्रममा करिब २०० विद्यार्थी सहभागी हुने आयोजकले जनाएको छ ।
मोडेल युनाइटेड नेसन्स (MUN) अन्तर्राष्ट्रिय मुद्दामा आधारित शैक्षिक गतिविधि हो । यसमा विद्यार्थीहरूले विभिन्न देशका प्रतिनिधिको भूमिका निर्वाह गर्दै विश्व राजनीति, मानवअधिकार, सुरक्षा, स्वास्थ्य र वातावरणलगायत विषयमा बहस गर्नेछन् ।
आयोजकका अनुसार कार्यक्रमले विद्यार्थीहरूलाई कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, नेतृत्व विकास तथा नीति निर्माण प्रक्रियाबारे व्यावहारिक अनुभव दिने लक्ष्य राखेको छ ।
कार्यक्रमअन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय निकायका समितिहरू गठन गरिएका छन् । World Health Organization मा विश्वव्यापी द्वन्द्वका बेला महामारी नियन्त्रण र स्वास्थ्य प्रणाली सुदृढीकरणबारे छलफल हुनेछ । United Nations Security Council मा साइबर सुरक्षासम्बन्धी चुनौतीमाथि बहस गरिनेछ ।
त्यस्तै UNESCO मा शिक्षा क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको नैतिक प्रयोग, UNICEF मा बालअधिकार र समान पहुँच, International Labour Organization मा डिजिटल युगमा श्रमको नैतिक अभ्यास, UNEP मा वातावरणीय सुशासन तथा दिगोपन र UNHRC मा युद्ध अपराध तथा मानवअधिकारसम्बन्धी जवाफदेहिताका विषय उठाइने आयोजकले जनाएको छ ।
प्रतिनिधि सभाअन्तर्गत नेपालमा लोकतान्त्रिक अधिकारको सुरक्षा, समुदायमा शान्ति स्थापना र वातावरण संरक्षणबारे समेत छलफल हुनेछ ।
आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा समालोचनात्मक सोच, सहकार्य क्षमता, वादविवाद कला तथा व्यक्तित्व विकास गर्नु हो ।
कार्यक्रमको दोस्रो दिन साँझ ‘सोसल नाइट’ आयोजना गरिनेछ । कार्यक्रममा नृत्य, डिनर तथा मनोरञ्जनात्मक गतिविधि समावेश गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा हेटौँडाका मकवानपुर बाल विद्या सदन, ज्ञानोदय बालबाटिका, जेम्स स्कुल, गौरीशिखर, जनप्रिय तथा कमाने एकेडेमीसहित विभिन्न विद्यालयका विद्यार्थी सहभागी हुनेछन् । साथै चितवन, नवलपरासी, काठमाडौं, सर्लाही, कास्की र धरानबाट समेत विद्यार्थीहरूको सहभागिता रहने बताइएको छ ।
कार्यक्रमका महासचिव वृष्टि जयसवालले मुन कार्यक्रमले विद्यार्थीहरूमा विश्व दृष्टिकोण विकास गर्दै अन्तर्राष्ट्रिय मुद्दाप्रति जिम्मेवार र सचेत नागरिक बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।















