काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा पनि मनसुन विस्तार भएको छ। यसको प्रभावले आज देशभर पूर्णतया बदली रहनेछ।
हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने तथा तराईका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको विभागले जनाएको छ।
विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि देशभर पूर्णतया बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ भने पहाडी क्षेत्रका केही र तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने पूर्वानुमान छ।
रातिको समयमा कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरोको जोखिम भएका क्षेत्र, नदी तथा खोलानाला आसपासका बासिन्दालाई आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
























