काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल कम्युनिस्ट पार्टीहरूबीच एकता हुने सम्भावना नरहेको बताएका छन्। उनले अहिलेको आवश्यकता पार्टी एकीकरणभन्दा आफ्नै संगठनलाई बलियो र व्यवस्थित बनाउनु भएको स्पष्ट पारे।
पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि कम्युनिस्ट एकता सम्भव नरहेको अभिव्यक्ति दिइसकेको उल्लेख गर्दै अहिले एकताको अपेक्षा गर्नु उपयुक्त नहुने बताए।
उनले कार्यकर्तालाई भ्रममा नपरी पार्टीको संगठन विस्तार, वैचारिक सुदृढीकरण र जनतामाझ प्रभाव बढाउने काममा केन्द्रित हुन आग्रह गरे। ‘पहिले हाम्रो पार्टी बलियो बनाऔँ। त्यसपछि मात्रै अरू राजनीतिक शक्तिको ध्यान आकर्षित हुन्छ र सहकार्य वा एकताको वातावरण बन्छ,’ उनले भने।
नेपालले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिँदै जिम्मेवारी बाँडफाँट गर्दा कार्यकर्ताको रुचि, क्षमता र अनुभवलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। विगतमा कार्यकर्ताको रोजाइअनुसार जिम्मेवारी दिने अभ्यास प्रभावकारी भएको उल्लेख गर्दै उनले त्यस्तो प्रणाली पुनः अपनाउनुपर्ने बताए।
उनले संगठनको आकार ठूलो बनाउनु मात्रै उपलब्धि नभई त्यसलाई चुस्त, सक्रिय र परिणाममुखी बनाउनु आवश्यक रहेको बताए। गण्डकी प्रदेश कमिटीको प्रसंग उल्लेख गर्दै उनले कार्यकर्ताको स्पष्ट अभिलेख, सक्रियता र प्रभावकारी परिचालनमा ध्यान दिनुपर्ने सुझाव दिए।
नेता नेपालले पार्टीभित्र मार्क्सवादी–लेनिनवादी विचारप्रतिको प्रतिबद्धता कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे। केही नेताहरू वैचारिक रूपमा विचलित भएको उल्लेख गर्दै उनले केन्द्रदेखि जिल्ला तहसम्म नियमित वैचारिक प्रशिक्षण सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले पार्टीले जनताका दैनिक समस्या, आवश्यकता र जनजीविकासँग प्रत्यक्ष जोडिएर काम गर्नुपर्नेमा समेत जोड दिए।
























