विश्वकप लिग–२ तयारी : नेपाली टोली जर्सी हुँदै नेदरल्यान्ड्स जाँदै

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक रूपमा बिदाइ गरेको छ।

क्यानले आयोजना गरेको कार्यक्रममा खेलाडीहरूलाई सफलताको शुभकामना दिँदै टोलीलाई बिदाइ गरिएको हो। आगामी जुलाई २१ देखि नेदरल्यान्ड्समा सुरु हुने शृङ्खलाको तयारीका लागि नेपाली टोली त्यसअघि बेलायती टापु जर्सी पुगेर विशेष प्रशिक्षण गर्नेछ।

क्यानका अनुसार टोलीले जर्सीस्थित ‘एनसीसी ग्रेनभिल’ मैदानमा प्रशिक्षण क्याम्प सञ्चालन गर्नेछ। प्रशिक्षण अवधिमा नेपालले घरेलु टोली जर्सीसँग जुलाई १३ र १५ मा दुईवटा एकदिवसीय अभ्यास खेल पनि खेल्ने तालिका छ।

नेपाली क्रिकेट टोली १८ वर्षपछि जर्सी जान लागेको हो। यसअघि सन् २००८ मा जर्सीमै सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–५ प्रतियोगितामा नेपालका महबुब आलमले मोजाम्बिकविरुद्ध ऐतिहासिक १० विकेट लिँदै विश्व कीर्तिमान बनाएका थिए।

जर्सीमा अभ्यास पूरा गरेपछि नेपाली टोली नेदरल्यान्ड्स पुग्नेछ। लिग–२ अन्तर्गत हुने त्रिकोणात्मक शृङ्खलामा नेपाल, आयोजक नेदरल्यान्ड्स र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ।

कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरिएको छ भने उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीले सम्हाल्नेछन्। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, भीम सार्की, अर्जुन कुमाल, ईशान पाण्डे र विनोद भण्डारी ब्याटिङ विभागमा रहेका छन्।

यस्तै अलराउन्डरमा दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, करण केसी र सोमपाल कामी छन् भने बलिङतर्फ सन्दीप लामिछाने, ललित राजवंशी र नन्दन यादवले स्थान बनाएका छन्।

क्यानले मुख्य टोलीसँगै साहब आलम, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री र सन्दीप जोरालाई वैकल्पिक खेलाडीका रूपमा राखेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.