नेपाली कांग्रेसले आफ्नो १५ औं केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री र कागजविहीन (पेपरलेस) बनाउने तयारी अघि बढाएको छ। निर्वाचन प्रक्रियालाई थप पारदर्शी, छिटो र व्यवस्थित बनाउन विद्युतीय भोटिङ मेसिन (ईभीएम) सहित डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्ने निर्णय गरिएको हो।
केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनलाई तोकिएकै समयभित्र स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाउने निर्णय गरेको हो। पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले डिजिटल प्रणालीलाई प्राथमिकतामा राख्दै निर्वाचन प्रक्रिया आधुनिकीकरण गर्ने निष्कर्ष निकालेको जनाएको छ।
समितिले यसअघि पार्टीका केन्द्रीय निर्वाचन समितिमा रहेर काम गरेका संयोजक, सदस्य तथा निर्वाचन अधिकृतहरूको अनुभव, सुझाव र सल्लाहलाई समेत समेटेर महाधिवेशन व्यवस्थापन गर्ने निर्णय गरेको छ। साथै महाधिवेशन सफल बनाउन पार्टीका सबै तह, सरोकारवाला समूह तथा सम्बन्धित निकायसँग सकारात्मक सहयोगको अपेक्षा गरिएको छ।
बैठकका निर्णयहरू जानकारीका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा पेश गरिने समितिले जनाएको छ। महाधिवेशनलाई आधुनिक, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यका साथ डिजिटलाइजेशन तथा ईभीएम प्रविधि प्रयोगको तयारीलाई कांग्रेसले विशेष प्राथमिकता दिएको छ।
























