मकवानपुर– मनहरी गाउँपालिका–३ ले स्थानीय टोल विकास संस्थालाई उत्पादनमूलक गतिविधितर्फ उन्मुख गराउने उद्देश्यले चप्पल बनाउने मेसिन उपलब्ध गराएको छ। आर्थिक सशक्तीकरण र स्वरोजगार सिर्जनालाई प्राथमिकता दिँदै वडाले दुई टोल विकास संस्थालाई आवश्यक कच्चा पदार्थसहित मेसिन हस्तान्तरण गरेको हो।
वडाको ५ लाख रुपैयाँ बजेटबाट लामिटारस्थित शिवशक्ति टोल विकास संस्था र हाँडीखोलास्थित साझा टोल विकास संस्था लाई चप्पल उत्पादनका लागि मेसिन प्रदान गरिएको हो। मेसिन सम्बन्धित संस्थाका अध्यक्ष इन्दिरा राई र अखिल पुडासैनी लाई हस्तान्तरण गरिएको थियो।
मेसिन हस्तान्तरण कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, वडा नं. ३ का अध्यक्ष अनन्तप्रकाश अर्याल, वडा सदस्य हिरबहादुर प्रजा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा वडा अध्यक्ष अर्यालले टोल विकास संस्थालाई उत्पादनमुखी बनाउँदै सदस्यहरूको आयआर्जन बढाउने उद्देश्यले यो सहयोग गरिएको बताए। गाउँपालिका अध्यक्ष कालाखेतीले पनि टोल विकास संस्थाले सामाजिक गतिविधिसँगै उत्पादन र उद्यमशीलतामा जोड दिनुपर्ने उल्लेख गर्दै पालिकाले क्षमता विकास तथा आयमूलक कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
























