मनसुन थप सक्रिय, आज रातिदेखि भारीदेखि अति भारी वर्षाको चेतावनी

काठमाडौं । नेपालमा मनसुनी प्रणाली थप सक्रिय बनेसँगै आज देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको तराई क्षेत्रनजिक सरेकाले वर्षाको प्रभाव उल्लेखनीय रूपमा बढेको हो।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा तथा मधेस र सुदूरपश्चिमका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार आज रातिदेखि वर्षाको तीव्रता अझ बढ्नेछ। विशेषगरी कोशी, बागमती र मधेस प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

सक्रिय मनसुनका कारण नदी, खोला र खोल्सामा पानीको सतह बढ्न सक्ने, पहाडी क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भू–क्षयको जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साथै, वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, पर्वतारोहण र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई पूर्वतयारी गर्न अनुरोध गरिएको छ

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.