नेपाली सेनाको हातबाट ब्युँतिने हेटौंडा कपडा उद्योग, परीक्षणका लागि ३३ लाख बजेट निकासा

हेटौंडा । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारी तयारी तीव्र बनेको छ। उद्योग सञ्चालनको प्रारम्भिक जिम्मेवारी नेपाली सेनालाई दिने तयारीस्वरूप परीक्षण उत्पादनको प्रक्रिया अघि बढाइएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीको चासोपछि मन्त्रालय र नेपाली सेनाबीच समन्वय गर्दै उद्योग सञ्चालनको परीक्षण कार्य सुरु गरिएको हो। यसका लागि उद्योग मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले तत्काल ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ।

प्रारम्भिक चरणमा नेपाली सेनाले आफ्नै आवश्यकताका लागि कपडा उत्पादन गर्ने योजना बनाएको छ। उद्योग मन्त्रालयका अधिकारीहरूका अनुसार सेनाले उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार र बजार दुवै पक्ष अनुकूल रहेको जानकारी सरकारलाई दिएको छ।

यसअघि २०८० सालमा नेपाली सेनाले उद्योग सञ्चालनको सम्भाव्यता अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा उद्योगका केही संरचना र मेसिन मर्मत गरी पुनः सञ्चालन गर्न सकिने, सैनिक कल्याणकारी कोषमार्फत लगानी गर्न सकिने तथा उद्योगको १६६ रोपनी जग्गा, आवश्यक पूर्वाधार र स्वदेशमै उपलब्ध कच्चा पदार्थका कारण सञ्चालन सम्भव रहेको उल्लेख गरिएको थियो।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा वि.सं. २०३२ सालमा स्थापना भएको हेटौंडा कपडा उद्योग २०५९ सालदेखि पूर्ण रूपमा बन्द छ। अहिलेको तयारी सफल भए उद्योगले फेरि उत्पादन सुरु गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.