देशभर जारी अविरल वर्षाका कारण बाढी, पहिरो, ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेपछि राजधानीबाट बाहिरिने प्रमुख सडकखण्डमा सवारी सञ्चालन रोकिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार नागढुङ्गा हुँदै उपत्यकाबाट बाहिरिने सवारीसाधन अर्को सूचना जारी नभएसम्म सञ्चालन गर्न रोक लगाइएको छ।
सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै फर्पिङ–दक्षिणकाली–मकवानपुर सडकखण्डमा पनि सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ। यात्रुलाई जोखिमपूर्ण यात्रा नगर्न तथा कुनै आपत्कालीन अवस्था आएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ।
यसैबीच, नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ढुङ्गा खस्न थालेको र सेती दोभान क्षेत्रमा लेदो बग्न थालेपछि उक्त सडकमा पनि दुवैतर्फको सवारी आवागमन बन्द गरिएको छ।
हाल देशका अधिकांश क्षेत्रमा वर्षा जारी रहेकाले जनजीवन प्रभावित भएको छ भने यात्रामा निस्कनुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।
























