हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले जेन-जी पुस्ताद्वारा सुरु गरिएको भ्रष्टाचारविरोधी आन्दोलनमाथि सरकारले गरेको दमनप्रति घोर आपत्ति जनाएको छ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै युनियनले लोकतन्त्र, समाजवाद र वाक स्वतन्त्रताको पक्षमा उभिएको संस्थामाथि भएको दमन, गोली प्रहार र बर्बर हत्या अमानवीय र निन्दनीय भएको उल्लेख गरेको छ।
शान्तिपूर्ण प्रदर्शनका क्रममा विद्यार्थीमाथि गोली प्रहार गरी हत्या हुनु र सूचना संकलनमा खटिएका सञ्चारकर्मी घाइते हुनु नागरिक अधिकारमाथिको ठाडो उल्लंघन भएको विज्ञप्तिमा भनिएको छ।
युनियनले सरकारलाई तत्कालै जेन-जी पुस्ताले अघि सारेका माग सम्बोधन गर्न, हिंस्रक गतिविधि रोक्न र घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरेको छ। साथै, भ्रष्टाचार र बेथितिको जालो केवल वर्तमान गठबन्धन सरकारमा मात्र नभई विगतका सबै सरकारहरूको पालामा फैलिएको भन्दै नेताहरू र तिनका परिवारको वैभवशाली जीवनशैलीप्रति प्रश्न उठाउनु प्रत्येक नागरिकको अधिकार भएको स्पष्ट पारेको छ।
जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रेस युनियन मकवानपुरले घाइते विद्यार्थी तथा सञ्चारकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।























































