आजदेखि तीव्र हावाहुरीको चेतावनी, प्राधिकरणद्वारा सतर्कता अपनाउन आग्रह

मकवानपुर— राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न क्षेत्रमा आजदेखि तीव्र गतिको हावाहुरी चल्ने चेतावनी दिँदै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा हावाहुरीको प्रभाव देखिनेछ। जल तथा मौसम विज्ञान विभागले उपलब्ध गराएको विवरणअनुसार कोशी प्रदेशको मोरङ, मधेसका धनुषा र बारा, लुम्बिनीका बर्दिया, बाँके, दाङ र अर्घाखाँची तथा सुदूरपश्चिमका डडेलधुरा र डोटी आसपासका क्षेत्रमा तीव्र हावाहुरी चल्ने अनुमान गरिएको छ।

विभागका अनुसार हावाहुरी आज साँझ ५:४५ बजेदेखि सुरु भई बिहीबार बिहान ७:४५ बजेसम्म कायम रहने सम्भावना छ। साथै, मेघगर्जन, चट्याङ, असिना र वर्षासहितको मौसम प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्ने देखिएको छ।

तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, घरका छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको प्राधिकरणले जनाएको छ। सम्भावित क्षतिबाट जोगिन सर्वसाधारणलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

हावाहुरीको समयमा अनावश्यक बाहिर ननिस्कन, घरका झ्यालढोका मजबुत रूपमा बन्द गर्न, जस्तापाताबाट बनेका छाना बलियो बनाउन तथा आगो प्रयोग गर्दा उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ। साथै, अग्ला रुख, कमजोर संरचना, बिजुलीका खम्बा र तार नजिक नबस्न तथा लत्रिएका तार नछुन चेतावनी दिइएको छ।

उडेर आउने वस्तुबाट चोटपटक लाग्न सक्ने भएकाले चनाखो रहन र मौसमसम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा लिन प्राधिकरणले आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.