डिजिटल पत्रकारिता र एआई प्रयोगबारे मकवानपुरमा तालिम सुरु

मकवानपुर,
डिजिटल युगसँगै पत्रकारिताको स्वरूप बदलिँदै गएको सन्दर्भमा मकवानपुरको कुलेखानीमा पत्रकार तथा सञ्चारकर्मीहरूका लागि क्षमता अभिवृद्धि तालिम सुरु गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेशको आयोजनामा तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश र मकवानपुर शाखाको सहकार्यमा कार्यक्रम सञ्चालनमा आएको हो।

दुई दिने तालिममा विशेष गरी डिजिटल पत्रकारिता र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबारे सहभागीलाई प्रशिक्षण दिइँदैछ। कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीले पत्रकारिताको बदलिँदो अभ्याससँग अद्यावधिक हुन आग्रह गरे। उनले एआईलाई सही तरिकाले प्रयोग गर्दै पेशागत दक्षता बढाउनुपर्नेमा जोड दिए।

मन्त्री अधिकारीले लोकतन्त्रको सुदृढीकरणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै पत्रकारिता क्षेत्रको विकासमा मन्त्रालयको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगरले वर्तमान अवस्थामा मिडियाले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। उनले सूचना प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको परम्परागत ढाँचा परिवर्तन गर्न आवश्यक रहेको बताए।

उनले सरकारी विज्ञापन वितरणमा समानता कायम हुनुपर्ने र प्रदेश सरकारले समानुपातिक विज्ञापन नीति ल्याउनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा विभिन्न पत्रकार संगठनका प्रतिनिधि, प्रदेश समितिका पदाधिकारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको छ। तालिममा प्रशिक्षक शिव पुरी र अजय शर्माले सहजीकरण गरिरहेका छन् भने कार्यक्रम भोलिसम्म सञ्चालन हुनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.