काठमाडौं। दशैको आगमनसँगै राजधानी काठमाडौंबाट हजारौं मानिसहरू आफ्नो जन्मभूमि, परिवार र बाल्यकालका सम्झनाहरू बोकेर गाउँ फर्किन थालेका छन् । नेपालीहरूका लागि वर्षको सबैभन्दा प्रतीक्षित चाड बडादशैं सुरु भएसंगै गाउ फर्किहरुको क्रम बढेको हो ।
सहरका गल्लीहरूमा अझै पनि चाडपर्वको रौनक खासै देखिएको छैन तरपनि बसपार्क र यात्रा केन्द्रहरूमा भने घर फर्किनेहरूको भिड सुरु भइसकेको छ । काम, पढाइ र बाध्यताले काठमाडौंलाई आफ्नो दोस्रो घर बनाएका मानिसहरू, दशैंको अवसर पारेर एकछिनका लागि भए पनि आफ्ना परिवार, आफन्त र गाउँका रमाइला पलहरूमा फर्कन आतुर देखिन्छन् ।
कतिले झोला भिरेका छन्, कतिले पिठ्यूमा बालबच्चा च्यापेका छन्, तिनको मुहारमा छुट्टै आशा र उमंग देखिन्छ — गाउँ पुग्ने र आफ्नो परिवारसँग दशैं मनाउने । तर यो उत्साहसँगै चिन्ताका धागोहरू पनि गाँसिएका छन् । सडकको अवस्था, पहिरोका खबरहरू, टिकटको मूल्य वृद्धिले केहीको अनुहारमा तनाव छ ।
जेनजी आन्दोलन र स्कुल–कलेज चाँडै बन्द भएको कारण धेरै पहिले नै फर्किए होलान् गाउँ । अहिले टिकट पाउन पनि सजिलो छ, त्यो त सास्ती कम भएको कुरा हो । तर, बिग्रिएको सडक अवस्था ।
दशैं घर फर्कने उत्साह त छ तर यात्रुको मनमा सडकको अवस्था, भाडाको वृद्धि, र ढिलाइप्रति गुनासो पनि उत्तिकै छ । काठमाडौंबाट गाउँ फर्किने यात्रुले सरकारसँग धेरै अपेक्षा राखेका छन् जसमा सुरक्षित यात्रा, उचित भाडा र समयमै सेवा । दशैंको रौनकसँगै यो समय यात्रुको धैर्यको पनि परीक्षा बनेको छ ।
यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयका अनुसार मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरु उपत्यकाबाट बाहिरिने सम्भावना छ ।






















































